४५ पदकसहित सर्लाही च्याम्पियन, मधेस रनिङ शिल्डमा बारालाई पछि पार्दै ऐतिहासिक सफलता

४५ पदकसहित सर्लाही च्याम्पियन, मधेस रनिङ शिल्डमा बारालाई पछि पार्दै ऐतिहासिक सफलता

मनाेज शाह जितपुर बारा जेठ १४ गते:
बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थित रहेको सिमरा रंगशालामा सम्पन्न मधेस प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि सर्लाहीले जितेको छ।

सर्लाहीले कुल ४५ पदक हात पार्दै प्रतियोगितामा पहिलो स्थान सुरक्षित गरेको हो।
सर्लाहीले १९ स्वर्ण, १५ रजत र ११ कास्य पदक जित्दै प्रतियोगितामा आफ्नो दबदबा कायम गर्‍यो। विशेषगरी एथलेटिक्सतर्फ सर्लाहीले १५ स्वर्ण, १३ रजत र ४ कास्य पदक जित्दै अन्य जिल्लालाई निकै पछि पार्‍यो।
घरेलु टोली बाराले १६ स्वर्ण, ९ रजत र १२ कास्यसहित दोस्रो स्थान हासिल गर्‍यो।

बाराले तेक्वान्दोमा ७ स्वर्ण तथा एथलेटिक्समा ६ स्वर्ण जित्दै कडा प्रतिस्पर्धा दिएको थियो।
प्रतियोगितामा सिरहा ८ स्वर्णसहित तेस्रो भयो भने महोत्तरी चौथो स्थानमा रह्यो। सप्तरी पाँचौं, धनुषा छैटौं, पर्सा सातौं तथा रौतहट आठौं स्थानमा सीमित बने।
जेठ १२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा मधेस प्रदेशका आठ जिल्लाका ७ सय ५२ खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते तथा उसु खेल समावेश गरिएको थियो।
प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट भएका छन्। कुल १ सय २४ खेलाडीले अब मधेस प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नेछन्।


समापन समारोहमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेल, निमित्त प्रदेश सचिव सुशिलकुमार साह तेली, नेपाली सेना २८ नम्बर गणका महासेनानी रञ्जनकुमार कार्की, इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्रप्रसाद कंडेल तथा सदस्य सचिव शिवजी गुप्तालगायतले विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।