स्पर्श खबर जितपुर बारा कार्तिक २१ गते:
जितपुरसिमरा नगर उद्योग वाणिज्य संघमा अझै निर्वाचन हुन सकेन, व्यापारीहरू असन्तुष्ट
बारा जिल्लाकाे जितपुरसिमरा उपमहानगरपालिकास्थित रहेको जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि निर्वाचन अहिलेसम्म हुन सकेको छैन। संघको कार्यकाल समाप्त भइसकेको भए पनि नयाँ मिति तोकिएको छैन ।
यस सम्बन्धमा अध्यक्ष मोहन लामिछानेसँग कुराकानी गर्दा उहाँले भन्नुभयो “हामी अहिले छलफल र तयारीको चरणमा छौँ, छिट्टै निर्वाचन मिति तोक्नेछौँ।
तर, संघअन्तर्गतका स्थानीय व्यापारीहरू भने निर्वाचन ढिलाइप्रति असन्तुष्टि जनाउँदै आएका छन्। उनीहरूले समयमै निर्वाचन नहुनु संघको पारदर्शिता र क्रियाशीलतामाथि प्रश्न उठाउने विषय भएको बताएका छन्।
व्यापारीहरूको भनाइमा “कार्यकाल समाप्त भइसकेको छ, तर नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु नहुनु उचित होइन। संघले चाँडै निर्वाचन मिति तोक्नुपर्छ।”
स्थानीय व्यवसायिक समुदायले अबको केही दिनमै संघले स्पष्ट निर्णय लिने अपेक्षा राखेका छन्।