विश्व शान्ति र सुरक्षामा नेपाल थप योगदान गर्न तयार रहेको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान समेत गर्नुभयो ।

नेपालमा सशस्त्र द्वन्द्वपछि शान्ति स्थापनाका लागि भएका प्रयासका बारेमा बताउँदै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट हालै पारित गराएको महासभामा उल्लेख गर्नुभयो ।

साथै प्रधानमन्त्री ओलीले इजरायल र प्यालेस्टाइन द्वन्द्वमा दुई मुलुकबीच शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्नेमा जोड दिनुभयो ।सभार ईमेज खबर ।

साथै प्रधानमन्त्री ओलीले विश्वका विकसित मुलुकको कार्बन उत्सर्जनबाट नेपाल प्रभावित हुनु परेको र जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने मागसमेत गर्नुभयो ।