भारतीय प्रधानमन्त्री मोदी आज पोल्याण्ड र युक्रेन भ्रमणका लागि जाँदै

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २१ देखि २३ सम्म पोल्याण्ड र युक्रेनको भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री मोदी २३ अगस्टमा युक्रेन जानेछन्।मोदीको भ्रमणलाई लिएर पोल्याण्डबाट पनि प्रतिक्रिया आएको छ। युरोपेली संसदका सदस्य डारियस जोन्स्कीले प्रधानमन्त्री मोदीको पोल्याण्ड भ्रमण राजनीति र व्यापारको दृष्टिकोणले हाम्रा लागि महत्वपूर्ण रहेको बताएका छन्।

भारतीय प्रधानमन्त्री ४५ वर्षपछि पोल्याण्ड भ्रमणमा जान लागेका हुन्।

पीएम मोदीको भ्रमण अघि, पोल्याण्डको लोज शहरका गभर्नर डोरोटा रियलले भने, ‘पोल्याण्डले भारतलाई व्यापारको हिसावले ठूलो साझेदार मान्छ।’

भारतीय विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मोदी अगस्ट २१ देखि २३ सम्म पोल्याण्ड र युक्रेनको औपचारिक भ्रमणमा जाने जानकारी दिएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २३ मा युक्रेनको भ्रमणमा जानेछन्। भारतीय प्रधानमन्त्रीले युक्रेन भ्रमण गर्न लागेको यो ३० वर्षमा पहिलो पटक हो। प्रधानमन्त्री मोदीको यो भ्रमण यस्तो समयमा भइरहेको छ जब युक्रेनले हालै रुसी सीमामा प्रवेश गरी आक्रमणलाई तीव्र बनाएको छ।

युक्रेनले रुसका केही क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ। रुसले छिट्टै युक्रेनमा ठूलो आक्रमण गर्न सक्ने आशंका गरिएको छ। बीबीसी