भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको मृत्यु

नयाँ दिल्ली : भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति मृ्यु भएको छ । लामो समयदेखि बिरामी परेका पूर्व विदेशमन्त्रीको गुरुग्रमको एक निजी अस्पतालमा मृत्यु भएको हो ।नटवर सिंहको अन्तिम संस्कार दिल्लीमा गरिने पारिवारिक स्रोतले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नटवर सिंहको निधनमा शोक व्यक्त गरेका छन् ।

पीएम मोदीले ट्वीटरमा लेखेका छन्, ‘नटवर सिंह जीको निधनले म दुखी छु। उहाँले कूटनीति र विदेश नीतिको संसारमा महत्त्वपूर्ण योगदान गर्नुभएको छ।’प्रधानमन्त्री मोदीले थप भनेका छन्, ‘उनी आफ्नो बौद्धिकता र लेखनका लागि पनि परिचित थिए । शोकको यस घडीमा उहाँको परिवार र प्रशंसकहरूप्रति समवेदना प्रकट गर्दछु। ओम शान्ति।’

पूर्व विदेशमन्त्री नटवर सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट सम्मानित गरिएको थियो । नटवर सिंह सन् २००४-०५ मा यूपीए सरकारमा भारतका विदेशमन्त्री थिए।

नटवर सिंहले आफ्नो पुस्तक ‘वन लाइफ इज नट इनफ’ मा सोनिया गान्धी प्रधानमन्त्री नबन्नुको कारण दिएका थिए जसलाई लिएर निकै विवाद भएको थियो । बीबीसी