कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

सेयर गर्नुहोस्

कालीकोट, जेठ २८ गते ।

कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा लु१च ८४९८ नम्बरका जिप शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

दुर्घटनामा जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन्, घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताउनु भयो ।