वडा नं. १४ मा खेलाडीलाई खेलकुद सामग्री वितरण, अध्यक्ष चयन गुरुङले भने– “खेलाडीले देशको नाम उच्च बनाऊन्

वडा नं. १४ मा खेलाडीलाई खेलकुद सामग्री वितरण, अध्यक्ष चयन गुरुङले भने– “खेलाडीले देशको नाम उच्च बनाऊन्
स्पर्श खबर जितपुर बारा श्रवण १३ गते: जितपुर सिमरा उपमहानगरपालिका–१४ मा स्थानीय खेलाडीहरूलाई खेलकुद सामग्री वितरण गरिएको छ। वडा कार्यालयको बजेटबाट खरिद गरिएका सामग्रीहरू बुधबार आयोजित एक कार्यक्रमबीच वडा अध्यक्ष चयन गुरुङ ले आफ्नै हातबाट खेलाडीहरूलाई हस्तान्तरण गर्नुभयो।


जोर्लाही, मौलापुर, खेरघारी तथा चौधरी टोलका खेलाडीहरूलाई लक्षित गर्दै भलिबल, फुटबल, क्रिकेट ब्याट लगायत विभिन्न खेलकुद सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
कार्यक्रममा वडा अध्यक्ष गुरुङले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासित र सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले सामग्री वितरण गरिएको बताउनुभयो। उहाँले स्थानीय खेलाडीहरूले मेहनत र लगनशीलताका साथ खेल क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै भविष्यमा देशको नाम अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने विश्वास व्यक्त गर्नुभयो।


सामग्री ग्रहणपछि खेलाडी सुरेश चौधरी ले खेलकुद सामग्री प्राप्त हुँदा आफूहरू निकै उत्साहित भएको प्रतिक्रिया दिनुभयो। उहाँले आवश्यक सामग्री उपलब्ध गराएकोमा वडा कार्यालयप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाउनुभयो।