मधेसका पत्रकारलाई साइबर सुरक्षा र एआइ सिकाउँदै आमसंचार प्राधिकरण

स्पर्श खबर जितपुर बारा जेठ १३ गते: डिजिटल युगसँगै प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दो छ, र त्यससँगै साइबर सुरक्षाको महत्त्व झनै बढेको छ। यही सन्दर्भमा बारा जिल्लाकाे कोल्बीमा एकदिने ‘साइबर सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम’ सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन लोसपा मधेस प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री जितेन्द्र सोनलले गर्नुभयो। उद्घाटन मन्तव्यमा उहाँले प्रविधिको सकारात्मक पक्षलाई आत्मसात् गर्नुका साथै यसको दुरुपयोगबाट जोगिन जनचेतना अपरिहार्य भएको बताउनुभयो।“प्रविधिको सदुपयोगसँगै त्यसको दुरुपयोगबाट जोगिन यस्ता कार्यक्रम आवश्यक छन्। यसले समाजमा डिजिटल साक्षरताको स्तर बढाउँछ।

कार्यक्रम आमसञ्चार प्राधिकरण, मधेस प्रदेशको आयोजनामा तथा नेपाल पत्रकार महासंघ, बारा शाखाको समन्वयमा गरिएको हो।

अभिमुखिकरण कार्यक्रममा बाराका पत्रकारहरूलाई लक्षित गरी साइबर सुरक्षाका चुनौतीहरू, डाटा सुरक्षाका उपायहरू, र प्रविधिका सम्भाव्यता तथा जोखिमहरूबारे विशेषज्ञहरूले विस्तृत रूपमा जानकारी प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले यस्तो अभ्यासले डिजिटल युगमा सुरक्षित र जिम्मेवार पत्रकारिता गर्न प्रेरणा दिने प्रतिक्रिया दिएका छन्।

सञ्चार क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान अवस्थामा यो कार्यक्रम सूचना सुरक्षातर्फको सचेत पहलका रूपमा लिइएको छ।