किसानकै छोरी भएकोले किसानहरुको दु:ख, पीडा हटाउन कृषकहरुको जीवनस्तर उकास्ने किसिमको विशेष प्याकेज ल्याइने कृषि तथा पशुपन्छी विकास मन्त्री साहको दाबी

किसानकै छोरी भएकोले किसानहरुको दु:ख, पीडा हटाउन कृषकहरुको जीवनस्तर उकास्ने किसिमको विशेष प्याकेज ल्याइने कृषि तथा पशुपन्छी विकास मन्त्री साहको दाबी

मनोज  शाह, जीतपुर बारा, फाल्गुन २७ गते

जीतपुरसिमरा उपमहानगरपालिकाले आज विशेष कार्यक्रमको आयोजना गरी आफ्नो ८ औं स्थापना दिवस मनाएको छ । स्थापनाकालको ८ औं वसन्त पार गर्दै यस कार्यालयले विभिन्न चुनौतीहरुको सामना गर्दै आफूलाई समाजमा अब्बल रुपमा स्थापित गर्न सफल भएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले प्रमुख अतिथिको रुपमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, एस्. पी. सुरेन्द्र काफ्ले, जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारी, पूर्व संविधानसभा सदस्य मधु शाही ठकुरी, पूर्व गा. वि. स. अध्यक्ष कृष्णव्रत सिंह, विभिन्न राजनैतिक दलका अगुवा, विभिन्न वडाका वडाध्यक्ष, , जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवजी साह लगायत ज्येष्ठ नागरिक, शिक्षक, विद्यार्थी, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले आफू पनि किसानकै छोरी भएकोले गर्दा प्रत्येक घरघरको किसानहरुको दु:ख, पीडा आफूले नजिकबाट बुझेको कुरा उल्लेख गर्दै किसानहरुको समस्यालाई आफ्नै समस्या ठानी ती समस्याहरुको समाधानको लागि जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने उहाँले दाबी गर्नुभयो । संघीयताकै फलस्वरुप महिला, मधेसी, आदिवासी, जनजाति लगायतले अगाडि बढ्ने अवसर पाएको कुरामा समेत उहाँले जोड दिनुभयो ।

 

विगतमा राज्यबाट उपेक्षा गरिएका गरिब एवम् निमुखा कृषकहरुको प्रत्येक योगदानको कदर गर्दै मुलुकका कुनाकुनामा रहेका कृषकहरुको जीवनस्तर उकास्ने किसिमको विशेष प्याकेज आफ्नो कार्यकालमा ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो । नेपालमा किसानको योगदानलाई मध्यनजर गर्दै कृषि तथा पशुपन्छी विकासको क्षेत्रमा दीगो विकासकाे बजेट विनियाेजन गर्नुका साथै किसानहरुको लागि फाइदा हुने हरेक क्षेत्रमा आफूले काम गर्ने उहाँले घोषणा गर्नुभयो । अन्य मुलुकहरुबाट भित्रिने कृषि तथा खाद्यान्न सामग्रीका कारण स्थानीयस्तरमा उत्पादित कृषि सामग्रीहरुले उचित मूल्य तथा स्थान नपाएको गुनासो पोख्दै यसको समाधानको बाटो आफूले चाँडै निकाल्ने कुरा मन्त्री साहले बताउनुभयो ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो ८ औं स्थापना दिवसको उपलक्ष्यमा जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका ज्येष्ठ नागरिक, उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी तथा कर्मचारीहरुलाई सम्मान समेत गरेको थियो ।