रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयनमा : प्रधानमन्त्री

स्पर्श खबर जितपुर बारा असार ६ गते:

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सहमति कार्यान्वयन गम्भीरतासाथ अघि बढाएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले रामायण सर्किटलगायत शिव, बुद्ध र किरात सर्किटहरूको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको जानकारी दिए।

‘नेपाल र भारतबीच १५ वटा धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने सम्बन्धमा भएको द्विपक्षीय सहमति कार्यान्वयन गर्न सरकार गम्भीर छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘रामायण सर्किट लगायतका शिव, बुद्ध र किरात सर्किटहरूको विकास गर्न यस वर्ष बजेट सुनिश्चित गरिएको छ।’

उनले जनकपुर क्षेत्रको पर्यटकीय विकासका लागि हाल ९८ वर्ष पुरानो गोपाल धर्मशाला रहेको स्थानमा नयाँ परियोजना कार्यान्वयन गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयार कार्यान्वयनको प्रक्रिया अघि बढेको जानकारी दिए। प्रधानमन्त्रीले देशका विभिन्न भागमा रहेका गुठी जग्गालगायत सबै प्रकारका जग्गासम्बन्धी समस्या सम्बोधन गर्न सरकार संवेदनशील रहेको स्पष्ट पारे।