भारतको आसाममा बाढीबाट ३१ जनाको मृत्यु

स्पर्श खबर जितपुर बारा असार ६ गते:

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा भारी वर्षापछि आएको बाढीमा ३१ जनाको मृत्यु भएको छ ।

आसामको मुख्य शहर गुवाहाटीबाट करिब २ सय ८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज जिल्ला बाढीबाट प्रभावित भएको हो । त्यहाँका एक हजारभन्दा बढी घर डुबानमा पर्दा १ लाख ८० हजार मानिस बिस्थापित भएका छन् । बाढीले सयौं चौपाया समेत बगाएको छ ।

आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणले बाढीका कारण १५ जिल्लाका एक लाख ६१ हजार २ सय ९ व्यक्ति प्रभावित भएको जनाएको छ । मनसुन शुरु भएपछि भारतमा अधिकांश राज्यहरुमा अविरल वर्षा जारी छ । बाढीका कारण लाखौं बिगाहा जमीनमा लगाइएको बालीनाली पनि नष्ट भएको छ ।

यसैबीच स्थानीय सरकारले प्रभावित क्षेत्रमा ४३ वटा राहत शिविर र वितरण केन्द्र स्थापना गरी बाढी पिडीतहरुलाई स्थानान्तरण गरेको छ । बाढीले तटबन्ध, सडक र पुलहरू लगायत पूर्वाधारमा भएको क्षति पुगेकाले बाढी पीडितहरुका लागि राहत सामग्री बितरणमा कठिनाइ भएको छ ।