वीर अस्पतालले अमानवीय व्यवहार गरेको अभियन्ता खानको आरोप

वीर अस्पतालले अमानवीय व्यवहार गरेको अभियन्ता खानको आरोप

 

बलात्कारपछि हत्या गरिएकी सुमदरानीका लागि न्याय माग्दै आमा ललिता थारू(दायाँ) माइतीघरमा धर्नाका क्रममा, साथमा अभियन्ता रुबी खान(बायाँ) ।

स्पर्श खबर जितपुर बारा जेठ ३२ गते:

वीर अस्पतालको इमर्जेन्सीमा भर्ना भएकी अभियन्ता रुवी खानले चार दिन बित्दासमेत वार्डमा नसारेर आफूमाथि अमानवीय व्यवहार भएको गुनासो गरेकी छन् । काठमाडौंको माइतीघरमा आमरण अनशनका क्रममा बिरामी भएपछि उनी सोमबार अस्पताल भर्ना भएकी थिइन् ।

नेपालगन्जकी अभियन्ता खान निर्मला कुर्मीको अपहरण र हत्याका दोषीमाथि कारबाही, सुमदरानी थारूको बलात्कारपछि हत्या आरोपितलाई यथाशीघ्र पक्राउ गरी कारबाहीलगायत माग राखेर सात दिनदेखि आमरण अनशनमा छिन् । ‘अनशनको चौथो दिनदेखि अस्पतालमा भर्ना छु तर वार्डमा सारिएको छैन, बिरामीले किन अनशन बस्नुपर्‍यो जानुस् खाना खानुस् भनेर डाक्टरहरूले अमानवीय व्यवहार देखाए,’ उनले भनिन् ।

बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले अस्पतालका अधिकारीले सामाजिक आन्दोलनको मर्म र पीडा नबुझेको गुनासो गरेकी छन् । आफूलाई इमर्जेन्सी बेडमा भर्ना गरिए पनि शौचालय नजिक दुर्गन्धित ठाउँमा राखेको उनले बताइन् । ‘सात दिनसम्मको भोक र प्यासको पीडा पनि नबुझ्ने ? जबकि डाक्टरलाई राम्रोसँग थाहा छ कि आमरण अनशन बसेको व्यक्ति मात्र स्लाइनपानीको भरमा बाँचेको हुन्छ,’ उनले लेखेकी छन् ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले हरेक बिरामीलाई सम्बन्धित चिकित्सकले हेर्ने भएकाले बुझेर मात्रै बताउन सक्ने बताए । ‘प्रहरीले जो पनि ल्याएर फ्यालिदिन्छ, इमर्जेन्सीमा हो भने त्यहींबाट हेरिएको होला,’ उनले भने । खानभन्दा गम्भीर प्रकृतिका बिरामी आएको खण्डमा पनि वार्ड नपाएको हुन सक्ने उनको भनाइ छ । ‘अनशन बसेपछि अटेन्सन खोज्ने पनि हुन्छन्, उहाँभन्दा सिरियस बिरामी भएकाले पनि डाक्टरले ध्यान नदिएका हुन् कि ? भोलि बिहान (शुक्रबार) बुझेर थाहा हुन्छ, साँच्चै बिरामी रहेछन् भने हेर्नै पर्ने हुन्छ,’ उनले भने ।

नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीका संयोजक डाक्टर कालुसिंह खत्रीका अनुसार कुनै पनि बिरामीलाई अस्पतालले भर्ना लिनका लागि कसैले जिम्मा लिनुपर्ने भएकाले खानलाई अस्पतालले भर्ना नलिएको हुन सक्ने बताए । उनका अनुसार स्वेच्छाले खाना नखाएको मानिसलाई के औषधि चलाउने र के नचलाउने भन्ने प्रोटोकल नेपालमा बनाइएको छैन ।सभार कान्तिपु दैनिक । अस्पताल भर्ना हुन चाहने र चिकित्सकले दिएको सल्लाह पनि नमान्ने भएपछि कुनै चिकित्सकले पनि भर्ना गर्न खोज्दैन, सँगै उहाँलाई केही भइहालेमा त्यसको जिम्मेवारी कसले लिने भन्ने पनि हुन्छ,’ उनले भने ।