२८६० औं सोनाम ल्होछारको अवसरमा नगर प्रमुखद्वारा शुभकामना व्यक्त
मनाेज शाह जितपुर बारा माघ २७ गते
नेपालको मात्र नभई विश्वभरिकै तामाङ्ग जाति तथा समुदायद्वारा मनाइने सोनाम ल्होछार (२८६० औं) को सुखद् अवसरमा जीतपुरसिमरावासी तथा देश, विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, आपसी सद्भाव, अमनचयन, एकता, समृद्धि र प्रगतिका लागि जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा प्रकाशित एक शुभकामना सन्देशमार्फत् नगर प्रमुख राजन पौडेलले हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
तामाङ जातिले सोनाम ल्होछारका अवसरमा विशेष गरी आफ्नो कूलदेवता र प्रकृतिको पूजा गर्ने तथा समुदायमा छोरीचेलीलाई बोलाएर टिका लगाइदिने गर्दछन् त्यसैले तामाङहरुलाई प्रकृतिप्रेमी समुदायका रुपमा पनि चिनिन्छ । तामाङ्ग समुदायमा ल्होछारलाई विशेष पर्व र नयाँ वर्षको आरम्भको रूपमा मनाइनुका साथै यस दिनमा पितृपूजा, कूलपूजा र प्रकृतिको पूजा गर्ने दिनको रूपमा समेत लिइन्छ । सोनाम ल्होछारका अवसरमा घर बस्तीहरु सफा गरी भगवान गौतम बुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर बुद्धको पूजा अर्चना गर्दै विभिन्न तान्त्रिक विधिसहित मुखौटा लगाएर नृत्य गरिनुका साथै डम्फु बजाउँदै तामाङ्गसेलो गाउने गरिन्छ, जसबाट नकारात्मक तत्वहरु हटेर जाने तथा सकारात्मक भावना अभिवृद्धि हुने जनविश्वास रहेको छ ।
विभिन्न जातजाति तथा भाषाभाषीको फूलबारीको रुपमा रहेको जीतपुरसिमरा उपमहानगरमा सबै समुदाय र जातजातिका मानिसहरुको बसोबास भएकोले पनि सोनाम ल्होछार जस्ता मौलिक चाडपर्वले यहाँका जनताबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक-सांस्कृतिक एकतालाई सुदृढ बनाउने कुरामा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल विश्वस्त रहेका छन् भन्ने कुरा उपमहानगरद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
यस पर्वबाट प्रकृतिको रक्षा, मौलिक सांस्कृतिक परम्पराहरूको संरक्षणका साथै जगेर्ना र संवर्द्धन गर्न तथा विभिन्न समुदाय, जातजाति, भाषाभाषी र संस्कृतिले भरिपूर्ण जीतपुरसिमरावासी र सम्पूर्ण नेपालीहरू बीच आपसी एकता, मित्रता, सहयोग, सद्भाव र भ्रातृत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुर्याउने कामना समेत उक्त शुभकामना सन्देशमा उल्लेख छ ।