धनुषामा ६ वर्षीय बालिकाको शव नग्न अवस्थामा फेला, दुई जना पक्राउ

सेयर गर्नुहोस्

धनुषा, मंसिर २९ गते ।

धनुषामा एक ६ वर्षीय बालिकाको शव फेला परेको छ । पछिल्लो २४ घण्टादेखि हराइरहेकी एक जना बालिकाको शव नग्न अवस्थामा फेला परेको हो ।

धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर २ कुसमहा सतोखर बस्ने ६ वर्षीय बालिका रेखा यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाँई अनुसार बालिकाको शव बिहीबार बेलुका ७ बजे फेला परेको थियो ।

बालिकाको बलात्कार गरी हत्या गरिएको हुनसक्ने प्रहरीको आशङ्का छ । ‘तलको भागको कपडा छैन । शरीरमा रगतजस्तो देखिएको छ । संवेदनशील अङ्गमा चोट देखिएको छ । बलात्कारकै आशङ्का छ, यसबारे विस्तृत अनुसन्धानपछि खुल्ला,’ सबैलाका प्रहरी निरीक्षक चौलागाँईले बताए ।

बालिका बुधवार विवाह पञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा सहभागी भएकी थिइन् । सतोखर पोखरीसम्म बालिका रथमै चढेर आए पनि त्यहाँ उनलाई २/३ जना युवकले तल झारेका थिए । रथ यात्रामा गएकाहरूसँग बालिका नफर्किएपछि उनको खोजी सुरु भएको थियो । खोजबिनका क्रममा बालिकाको शव खेतमा खनेको खाल्डोमा फेला परेको इन्स्पेक्टर चौलागाँईले जानकारी दिए ।

बालिकालाई रथबाट उतार्ने दुई जना युवालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । “उनीहरूसँग सोधपुछ भइरहेको छ, अझै केही जानकारी दिन मिल्दैन,” इन्स्पेक्टर चौलागाँईले भने ।