विक्रमबाबा मेलामा मन्त्री गौतमको सहभागिता, प्रकृति संरक्षणमा जोड
स्पर्श खबर जितपुर बारा चैत १८ गते:
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री माननीय सोबिता गौतमले आफ्नो निर्वाचन क्षेत्र चितवन–३ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्र कसरास्थित पवित्र विक्रमबाबा मन्दिरमा पूजाआराधना गर्नुभएको छ।

चैतेदसैँको अवसरमा आयोजना हुने विक्रमबाबा पूजा परापूर्वकालदेखि थारू समुदायमा प्रचलित धार्मिक परम्परा हो। समयसँगै यो परम्परा विस्तार हुँदै आज सबै समुदायको साझा आस्थाको केन्द्र बनेको छ।
मन्त्री गौतमले विक्रमबाबा मेलामा सहभागी भई सालको रूखको फेदमा पूजा–अर्चना गर्नुभएको थियो। सो अवसरमा उहाँले प्रकृति–पूजासँग जोडिएको यस्तो परम्पराले वन, नदी तथा प्राकृतिक स्रोतप्रति संरक्षणको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।

स्थानीय बासिन्दा तथा श्रद्धालुहरूको उल्लेखनीय सहभागितामा सम्पन्न मेलाले धार्मिक आस्था, सांस्कृतिक पहिचान र वातावरणीय सचेतनालाई एकैसाथ जोडेको देखिएको छ।