बिरामी अवस्था र पारिवारिक शोकबीच पनि ओली सक्रिय, कानुनी कारबाहीको चर्चाले बढायो चिन्ता
स्पर्श खबर जितपुर बारा चैत १४ गते
। पूर्व कृषिमन्त्री ज्वाला शाह ले वर्तमान राष्ट्रिय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी सार्वजनिक गर्नुभएको छ। उहाँले देशको नेतृत्व गरिरहेका केपी शर्मा ओली बिरामी अवस्था र पारिवारिक शोकका बीच पनि निरन्तर काममा खटिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा समेत आराम नपाउनु दुःखद भएको बताउनुभएको छ।
शाहले लेख्नुभएको छ कि ओलीका बुवाको निधन भएको केवल १५ दिन मात्रै बितेको छ, तर त्यसको पीडाबीच पनि उहाँ देश र जनताको सेवामा समर्पित रहनुभएको छ। यस्तो संवेदनशील अवस्थामा पनि उहाँप्रति सहानुभूति र सहयोगको सट्टा कानुनी कारबाहीको चर्चा हुनु अत्यन्त चिन्ताजनक भएको उहाँको भनाइ छ।
उहाँले बिना स्पष्ट प्रमाण देशको हितका लागि काम गर्ने व्यक्तिमाथि कारबाहीको चर्चा हुनु न्याय प्रणालीप्रति नागरिकको विश्वास कमजोर बनाउने खतरनाक संकेत भएको उल्लेख गर्नुभएको छ। साथै, समाजमा हिंसा, लुटपाट, आगजनी जस्ता गतिविधिमा संलग्न व्यक्तिहरूले सजायको सट्टा प्रश्रय पाइरहेको अनुभूति बढ्दै गएको भन्दै यसले कानुनी शासन कमजोर बन्दै गएको संकेत गर्ने चेतावनी दिनुभएको छ।
शाहले प्रश्न उठाउनुभएको छ—“देश कता जाँदैछ? के सत्य र न्यायको पक्षमा उभिनेहरू सधैं पीडित र गलत काम गर्नेहरू पुरस्कृत हुने अवस्था नै कायम रहने हो?”
अन्त्यमा उहाँले निष्पक्ष न्याय, पारदर्शिता र सबैका लागि समान कानुनको कार्यान्वयनको आवश्यकता औंल्याउँदै जिम्मेवार निकायहरूलाई सत्य र न्यायको पक्षमा उभिन आग्रह गर्नुभएको छ। साथै, नागरिकहरूलाई पनि विवेकपूर्ण ढंगले परिस्थितिको मूल्याङ्कन गर्दै सकारात्मक परिवर्तनका लागि आवाज उठाउन आह्वान गर्नुभएको छ।