फुटपाथ व्यवस्थापनमा वडाको पहल, नगरको मौनता—१५ दिनको अल्टिमेटम

फुटपाथ व्यवस्थापनमा वडाको पहल, नगरको मौनता—१५ दिनको अल्टिमेटम
मनोज साह जितपुर बारा चैत ४ गते:
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा फुटपाथ व्यवस्थापनको विषय फेरि चर्किएको छ। वडा सदस्य तथा न्यायिक समितिकी सदस्य सीता उप्रेती ले सामाजिक सञ्जालमार्फत वडा कार्यालयले सुरुदेखि नै फुटपाथ हटाउने र ६ लेनको सर्भेस लाइन खाली गर्नुपर्ने आवाज उठाउँदै आएको उल्लेख गरेकी छन्।
उनका अनुसार, वडाले पटक–पटक सूचना जारी गर्दै स्थानीयलाई सचेत गराए पनि न नगरपालिकाबाट चासो देखियो, न उद्योग वाणिज्य संघ र व्यापारीबाट सहयोग मिल्यो। बरु सर्भेस लाइन खाली गराउने कुरा उठाउँदा केही स्थानीय नेता तथा व्यक्तिहरूले वडाध्यक्षमाथि आरोप लगाउनमै समय खर्चिएको गुनासो गरिएको छ।
उप्रेतीले अब फुटपाथ व्यवस्थापनका लागि कडा कदम चाल्ने संकेत दिँदै १५ दिनको समय दिएर पुनः सूचना जारी गरिने बताएकी छन्। “अब कसले साथ दिन्छन्, को–को सहयोग गर्न आउँछन्, त्यो हेर्ने बेला आएको छ,” उनले लेखेकी छन्।
उनले फुटपाथ व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले नै लिनुपर्नेमा जोड दिँदै नगर प्रमुख र उपप्रमुखको ध्यानाकर्षणसमेत गराएकी छन्।