नगरभरि लामखुट्टेको आतंक, मेयर मौन
मनोज साह जितपुर बारा चैत ४ गते:
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका यतिबेला लामखुट्टेको अत्यधिक आतंकबाट आक्रान्त बनेको छ। नगरका हरेक वडा–वडाबाट स्थानीय बासिन्दाहरूको गुनासो बढ्दो क्रममा आइरहेको छ। साँझपख मात्र होइन, दिनदहाडै पनि लामखुट्टेको टोकाइले सर्वसाधारण हैरान भएका छन्।
स्थानीयहरू भन्छन्—“कम्तीमा लामखुट्टे मार्ने औषधि त छर्नुपर्यो।” तर नगरपालिकाको तर्फबाट कुनै ठोस पहल नदेखिएको भन्दै आक्रोश चुलिँदै गएको स्थानीय सुरेश लामाले बताए।
यसैबीच, स्थानीय समाजसेवी युगेन्द्र महतोले सामाजिक सञ्जाल फेसबुकमार्फत कडा असन्तुष्टि जनाउँदै लेखेका छन्,जितपुरसिमरामा लामखुट्टेको आतंक छ, मेयरसाब कहाँ सुत्नुभएको छ? उनको यो अभिव्यक्ति अहिले नगरभरि चर्चाको विषय बनेको छ।
तर यता, पटक–पटक गुनासो आउँदा समेत मेयर राजन पौडेलको कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन। जनताको स्वास्थ्यसँग जोडिएको गम्भीर विषयमा समेत जनप्रतिनिधि मौन बस्दा स्थानीयहरूमा निराशा र आक्रोश दुवै बढिरहेको देखिन्छ।
यदि समयमै नियन्त्रणका उपाय नअपनाइए, यसले डेंगु, मलेरिया जस्ता रोग फैलिन सक्ने जोखिम समेत बढ्ने स्वास्थ्यकर्मीहरूको चेतावनी छ। अब नगरपालिकाले तुरुन्तै औषधि छर्ने लगायत आवश्यक कदम चाल्ने कि अझै मौन बस्ने—स्थानीयहरूको चासो यहीँ केन्द्रित भएको छ।