बारा क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार ज्वालाकुमारी शाहको पक्षमा जनलहर तीव्र, प्रतिस्पर्धी दलमा बेचैनी
मनोज शाह जितपुर बारा माघ २२ गते
बारा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार तथा पूर्वमन्त्री ज्वालाकुमारी शाहको पक्षमा जनसमर्थन तीव्र बन्दै गएपछि चुनावी माहोल थप तातिएको छ। गाउँ–गाउँ र टोल–टोलमा देखिएको उत्साहजनक सहभागिताले एमालेप्रति जनविश्वास मजबुत हुँदै गएको संकेत गरेको छ।
स्थानीय युवा मुकेश शाहका अनुसार, “एमालेप्रति देखिएको जनसमर्थनका कारण प्रतिस्पर्धी दल राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसका उम्मेदवारहरू दबाबमा परेका छन्।” घरदैलो अभियान, चुनावी सभा तथा जनसंवाद कार्यक्रममा नागरिकको उल्लेख्य उपस्थितिले एमालेको पकड बलियो बन्दै गएको देखिन्छ।
विशेषगरी युवाहरू, किसान, मजदुर तथा व्यवसायी वर्गले विकास, स्थायित्व र स्पष्ट नेतृत्वको अपेक्षासहित ज्वालाकुमारी शाहप्रति समर्थन जनाइरहेका छन्। स्थानीय मतदाताहरूका अनुसार विगतमा अधुरा र अलपत्र परेका विकास योजनाहरू पूरा गर्न सक्ने क्षमता र अनुभव भएको दलका रूपमा एमालेप्रति भरोसा बढेको हो।
“अब भाषण होइन, काम गरेर देखाउने नेतृत्व चाहिन्छ,” भन्ने जनभावनाले एमालेको अभियानलाई थप ऊर्जा दिएको स्थानीयहरूको भनाइ छ।
उम्मेदवार शाहले शिक्षा, स्वास्थ्य, सडक तथा पूर्वाधार विकास, रोजगारी सिर्जना र सुरक्षालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएकी छन्। घरदैलो तथा भेटघाटका क्रममा उनले विकास र सुशासनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन्।
उता, जनलहर आफ्नो पक्षमा नआएको महसुस गरेपछि प्रतिस्पर्धी दलका उम्मेदवारहरू आलोचनामुखी गतिविधिमा केन्द्रित हुन थालेको टिप्पणी स्थानीय स्तरमा उठ्न थालेको छ। तर मतदाताहरू भने नकारात्मक राजनीतिभन्दा परिणाममुखी, उत्तरदायी र जनमुखी नेतृत्वको खोजीमा रहेको स्पष्ट देखिन्छ।


