देश बचाउन एमाले जिताउनु पर्नेमा जोड : बारा–४ को विस्तारित बैठक सम्पन्न
मनोज शाह जितपुर बारा माघ १० गते
बारा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत जितपुर–सिम्रा नगर कमिटीको आयोजनामा आज विस्तारित बैठक सम्पन्न भएको छ। बैठकमा १ देखि २४ वडासम्मका वडाध्यक्ष, जनप्रतिनिधि, पार्टी नेता–कार्यकर्तालगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य मोबिन आलमले देशलाई बचाउन नेकपा एमाले पार्टीलाई जिताउनै पर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले अहिले देखिएका केही शक्तिहरू विदेशी इशारामा काम गरिरहेको आरोप लगाउँदै राष्ट्रहितका लागि एमाले आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी, नेकपा एमालेकी पूर्व केन्द्रीय सदस्य सरस्वती चौधरीले जहाँ–जहाँ हुनुहुन्छ, सबैले आ–आफ्नो ठाउँबाट पार्टीको सिपाही बनेर क्षेत्र नम्बर ४ मा एमालेको विजय सुनिश्चित गर्न लाग्नुपर्नेमा जोड दिनुभयो।
बैठकमा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किसान श्रेष्ठले एमालेको कार्यकालमा बारा क्षेत्र नम्बर ४ मा विभिन्न राष्ट्रिय महत्वका विकास योजनाहरू सञ्चालन भएको उल्लेख गर्दै आगामी दिनमा ती योजनालाई थप अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विस्तारित बैठकमा सहभागी सबै वक्ताहरूले देश र जनताको हितका लागि एमालेमा मतदान गर्न क्षेत्र नम्बर ४ का जनतालाई एकमतका साथ आह्वान गरेका थिए।


