मनाेज शाह जितपुर बारा माघ ७ गते:
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित शिवशक्ति घिउ उद्योगले आज सामाजिक दायित्वअन्तर्गत दलित, विपन्न, गरिब तथा असहाय परिवारहरूलाई ११५ वटा कम्बल वितरण गरेको छ। वडा नम्बर ७ का वडाध्यक्ष सुनिल कुमार गुप्ताको पहलमा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वडाध्यक्ष गुप्ताले शिवशक्ति घिउ उद्योगले सामाजिक उत्तरदायित्व पूरा गर्दै आज कम्बल वितरण गरेको उल्लेख गर्दै उद्योगले सामुदायिक विद्यालयका लागि एकजना शिक्षकको व्यवस्थासमेत गरेको जानकारी दिनुभयो। उहाँले वडा नम्बर ७ भित्र रहेका अन्य उद्योगहरूलाई पनि शिवशक्ति उद्योगबाट प्रेरणा लिएर आ–आफ्नो स्थानबाट सामाजिक दायित्व पूरा गर्न आग्रह गर्नुभयो। साथै उहाँले शिवशक्ति उद्योगका सञ्चालक तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी दलित समुदायकी महिला नेत्री सीता पैसाले वडाध्यक्ष सुनिल कुमार गुप्ताको नेतृत्वमा वडा कार्यालयको टिमले दलित तथा पिछडिएका समुदायका लागि निरन्तर रूपमा काम गरिरहेको भन्दै आभार प्रकट गर्नुभयो। “आज गरिएको यो काम अत्यन्तै सराहनीय छ, यसका लागि वडा अध्यक्षज्यू र उहाँको टिमलाई धेरै–धेरै धन्यवाद,” उहाँले भन्नुभयो।
त्यसैगरी शिवशक्ति घिउ उद्योग प्रालिका प्रतिनिधि प्रमोद पटेलले सामुदायिक दायित्वलाई आत्मसात् गर्दै कम्बल वितरण गरिएको बताउनुभयो। उहाँले भविष्यमा पनि वडा अध्यक्षको पहलमा समाजका लागि आवश्यक परेमा उद्योग सधैं सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो।
स्थानीयवासीहरूले निजी क्षेत्र र वडा कार्यालयको सहकार्यमा गरिएको यस किसिमको सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिएका छन्।


