चुनावको मुखमा नेपाली कांग्रेसलाई ठूलो झट्का, सयौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश

चुनावको मुखमा नेपाली कांग्रेसलाई ठूलो झट्का, सयौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश

मनोज साह जितपुर बारा माघ ६ गते: निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस पार्टीलाई बारा जिल्लामा ठूलो झट्का लागेको छ। नेपाली कांग्रेसका सयौं कार्यकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्।
नवप्रवेशी कार्यकर्ताहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार किसान श्रेष्ठले आफ्नै निजी निवासमा खादा र टीका लगाएर भव्य रूपमा स्वागत गर्नुभयो। कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व कार्यकर्ता अतिउल्लाह अन्सारीले आफू करिब ५० वर्षसम्म कांग्रेसमा लागे पनि उचित सम्मान नपाएको गुनासो गर्नुभयो। उहाँले देशलाई सम्हाल्दै अगाडि बढाउन सक्ने एउटै पार्टी नेकपा एमाले भएको दाबी गर्दै खुसीसाथ एमालेमा प्रवेश गरेको बताउनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य किसान श्रेष्ठले नेकपा एमाले हरेक समुदाय र हरेक जातिको साझा पार्टी भएको उल्लेख गर्नुभयो। उहाँले देशको मुहान फेर्ने सामर्थ्य एमालेसँग मात्रै रहेको दाबी गर्दै बारा क्षेत्र नम्बर ४ का सम्पूर्ण जनतालाई आगामी निर्वाचनमा एकताबद्ध भएर सहयोग गर्न आग्रह गर्नुभयो। अघिल्लो निर्वाचनमा १० हजार मतान्तरले जित हासिल गराएको स्मरण गराउँदै यसपटक १५ हजारभन्दा बढी मतले विजयी गराउन अपिल गर्नुभयो। “अहिलेसम्म संसदमा जनताको सुख–दुःखमा सबैभन्दा बलियो आवाज मैले उठाउँदै आएको छु, मेरो काम हेर्न चाहनेले प्रोफाइल खोलेर हेर्न सक्नुहुन्छ,” उहाँले भन्नुभयो।
कार्यक्रमको सहजीकरण नेकपा एमाले जितपुर सिम्रा नगर अध्यक्ष तिलोक शाही ठकुरीले गर्नुभएको थियो। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मोबिन आलमले सम्पूर्ण नेता–कार्यकर्ता एकजुट भएर, एकमुष्ट रूपमा आगामी निर्वाचनमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य सीता सुवेदी, मधेस प्रदेश सचिव मनोज पौडेल, मधेस प्रदेशका पूर्व सदस्य सुन्दर विश्वकर्मा, ओबीसी केन्द्रीय उपाध्यक्ष सुनिल गुप्तालगायत नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।