सिर्सिया खोला बचाऔँ अभियान : प्रदूषित पानी बोकेर युवाहरूले मेयर राजन पौडेललाई गराए चेतना, दबाब निरन्तर
स्पर्श खबर जितपुर बारा माघ ४ गते। ।
सिर्सिया खोला बचाऔँ अभियानमा सक्रिय युवाहरूले आज जितपुर सिम्रा उपमहानगरपालिकाका मेयर राजन पौडेललाई सिर्सिया खोलाको दयनीय अवस्थाको संकेतस्वरूप पानी प्रदान गर्दै निरन्तर दबाबमूलक कार्यक्रम सञ्चालन गरेका छन्। अभियानका अभियन्ता किसुन सराफले आजको कार्यक्रम पाँचौँ पटकको निरन्तर अभियान भएको जानकारी दिँदै, “सिर्सिया खोला बचाउने लक्ष्य पूरा नहुन्जेलसम्म हामी शान्तिपूर्ण रूपमा निरन्तर अभियानमै लागिरहन्छौँ,” भने।
अभियानमा सहभागी युवाहरूले सिर्सिया खोला अत्यधिक प्रदूषण, अतिक्रमण र प्रभावकारी व्यवस्थापनको अभावका कारण दिनप्रतिदिन झनै बिग्रँदै गएको गुनासो गरेका छन्। उनीहरूको भनाइमा, “हाम्रा बाउ–बाजेहरूले यही सिर्सिया खोलाको पानी प्रयोग गरेर खाना पकाएर खान्थे, तर आज खोलाको पानी यति धेरै प्रदूषित भइसकेको छ कि हामी बाँच्नसमेत सक्दैनौँ भन्ने अवस्था आएको छ।”
विशेषगरी बारा पर्सा आसपास रहेका उद्योगहरूबाट निस्कने फोहोर र रासायनिक प्रदूषित पानी सिधै सिर्सिया खोलामा मिसिँदा खोलाको पानी विषजस्तै बन्दै गएको अभियन्ताहरूको आरोप छ। उद्योगजन्य फोहोरका कारण मानव स्वास्थ्य, पशुपंक्षी र वातावरणमै गम्भीर असर परेको भन्दै उनीहरूले तत्काल खोला सफाइ, ढल व्यवस्थापन, उद्योगको अनुगमन तथा प्रदूषण नियन्त्रणका ठोस कदम चाल्न नगरपालिकासँग माग गरेका छन्।
यता, जितपुर सिम्रा उपमहानगरपालिकाका मेयर राजन पौडेलले सिर्सिया खोला संरक्षण महत्त्वपूर्ण विषय भएको स्वीकार गर्दै यसलाई “सानो काम” का रूपमा नहेरी चरणबद्ध र योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने बताएका छन्। उनले नगरपालिकाका स्रोत र साधन सीमित भए पनि खोलाको दीर्घकालीन समाधानका लागि आगामी दिनमा थप पहल गरिने प्रतिबद्धता व्यक्त गरे।
सिर्सिया खोला बचाऔँ अभियानले स्थानीय तह, सरोकारवाला निकाय, उद्योगी र आम नागरिकबीच समन्वय गरी खोलालाई पुनः जीवन्त बनाउने लक्ष्यसहित दबाबमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
सिर्सिया खोला बचाऔँ अभियान : प्रदूषित पानी बोकेर युवाहरूले मेयर राजन पौडेललाई गराए चेतना, दबाब


