मध्यवर्ती सामुदायिक वनको १८औँ वार्षिक साधारण सभा सम्पन्न
मनाेज शाह जितपुर बारा पुस २७ गते : जीतपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १८औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। जीतपुरसिमरा–२ नरबस्तीस्थित वन समूहको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले गर्नुभएको हो। साधारण सभामा समूहका अध्यक्ष सत्यबहादुर श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्ययोजना सार्वजनिक गर्नुभयो। प्रतिवेदन प्रस्तुत गर्दै उहाँले वन, वातावरण, जैविक विविधता तथा वन्यजन्तु संरक्षणलाई प्राथमिकतामा राख्दै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। साथै उपभोक्ताको आर्थिक अवस्था सुधारका लागि पर्यापर्यटन प्रवर्द्धन गर्दै इको पार्क निर्माणमार्फत रोजगारीका अवसर सिर्जना गरिने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष श्रेष्ठका अनुसार मुसहर्नीमाइ मध्यवर्ती सामुदायिक वनदेखि भिमेश्वर मध्यवर्ती सामुदायिक वनसम्मको सीमामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेश तारबार जडानको काम सुरु भइसकेको छ। बाँकी क्षेत्रको कामलाई पनि निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो। सभाहल स्तरोन्नति, खाली क्षेत्रहरूमा वृक्षारोपण, वन्यजन्तुका लागि पानी पोखरी निर्माण गर्ने योजना पनि अघि सारिएको छ। इको पार्कको डीपीआर प्राप्त भइसकेकाले सोही अनुसार निर्माण कार्य अघि बढाइने र पर्यापर्यटन प्रवर्द्धनका लागि सम्बन्धित निकायसँग समन्वय गरी जिप सफारी सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो। साथै एक महिनाभित्र वाटर फाउन्डेसन सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिनुभयो।
कार्यक्रममा बोल्दै जनहित उपभोक्ता समिति सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठले मध्यवर्ती क्षेत्र घोषणा भएदेखि नै वन तथा वन्यजन्तु संरक्षणमा सामुदायिक वनहरूले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। उपमहानगरपालिकाभित्र रहेका सामुदायिक वनका लागि विनियोजन गरिएको बजेट अपर्याप्त भएकाले थप बजेट व्यवस्था गर्नुपर्ने उहाँको माग थियो। पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगतले पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत ४९ वटा सामुदायिक वन रहेको जानकारी दिँदै तीमध्ये राधाकृष्ण मध्यवर्ती सामुदायिक वनले संरक्षणमा उल्लेखनीय भूमिका खेलेको बताउनुभयो। उहाँले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समूहले निरन्तर काम गरिरहेको उल्लेख गर्दै सञ्चालन हुने कार्यक्रमहरू विधि, नियम र कानुनअनुसार गर्न आग्रह गर्नुभयो।
भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह पथलैयाका अध्यक्ष सुमन थापा मगरले वन संरक्षणमा राधाकृष्ण मध्यवर्ती सामुदायिक वनको भूमिका सराहनीय रहेको बताउँदै मानव र वन्यजन्तुबीचको द्वन्द्व समाधानका लागि तारबार जडान महत्वपूर्ण कदम भएको उल्लेख गर्नुभयो। प्रमुख अतिथि नगरप्रमुख राजन पौडेलले संरक्षणका क्षेत्रमा राम्रो काम भए पनि पर्यटन विकास अपेक्षित रूपमा हुन नसकेको टिप्पणी गर्नुभयो। पर्सा राष्ट्रिय निकुञ्जमा जिप सफारीजस्ता कार्यक्रम सञ्चालन हुन नसक्दा पर्यटन प्रवर्द्धनमा समस्या देखिएको उहाँको भनाइ थियो। सामुदायिक वन र निकुञ्जबीच समन्वय गरी कम लगानीमा हुने पर्यटनमुखी कार्यक्रम अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
साधारण सभामा जनहित उपभोक्ता समिति सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठ, भिमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति पथलैयाका अध्यक्ष सुमन थापा मगर, पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सन्तोष भगत, थानीमाई सामुदायिक वनका कोषाध्यक्ष श्यामकृष्ण सुवेदीलगायत राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा उपभोक्ताको उपस्थिति रहेको थियो।कार्यक्रममा सचिव रिता कंडेलले स्वागत मन्तव्य राख्दै इको पार्क निर्माणका लागि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) हस्तान्तरण गर्नुभयो।


