बारामा शिक्षा क्षेत्र असुरक्षित बन्दै, दिनदहाडै शिक्षकहरुमाथि गोली प्रहारको घटना पुनः दोहोरियो ।

बारामा शिक्षा क्षेत्र असुरक्षित बन्दै, दिनदहाडै शिक्षकहरुमाथि गोली प्रहारको घटना पुनः दोहोरियो ।

रन्जित चौधरी, जितपुर बारा, असार १ गते

गत वर्षदेखि नै बारा जिल्लाको समग्र शिक्षा क्षेत्र असुरक्षित बन्दै गएको छ । बारामा समयसमयमा शिक्षकहरुमाथि गोली प्रहारका घटनाहरु दोहोरिरहँदा शिक्षक, विद्यार्थी तथा समग्र शिक्षा क्षेत्रको सुरक्षामाथि नै प्रश्न चिन्ह खडा भएको छ । लगभग ६ महिनाको अन्तरालमा बारामा दुई शिक्षकहरुमाथि गोली प्रहार गरी हत्या गरिएको छ । यी घटनाहरुले देशको कमजोर सुरक्षा व्यवस्थामाथि पनि प्रश्न खडा गरेको छ ।

बारा जिल्लाको कलैयामा रहेको रामराजा क्याम्पसका प्रमुख हरिभूषण कुश्वाहाको अज्ञात समूहद्वारा हत्या गरिएपछि उनको हत्याको विरोध गर्दै तथा दोषीको कारवाहीको माग गर्दै आज बाराको कलैयामा ठूलो जनसंख्यामा उपस्थित भएका मानिसहरुले प्रदर्शन गरिरहेका छन् । सम्पूर्ण शिक्षकहरुको जिउज्यानको संरक्षण गरिदिनुपर्ने, हत्यामा संलग्नको पहिचान गरी कडा कारवाही गर्नुपर्ने तथा पीडित पक्षले न्याय पाउनुपर्ने माग राख्दै ने.वि. संघ, शिक्षकहरु, विद्यार्थीहरु तथा सर्वसाधारणहरुले मिलेर सामूहिक रुपमा आज कलैयामा नाराजुलुस निकालेका छन् भने टायर समेत बालेर प्रदर्शन गरेका छन् । हत्यामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।