निलम्बित र फरार अभियुक्तलाई फेरि जिम्मेवारी ! रास्वपा मधेश प्रदेश निर्णयमाथि गम्भीर प्रश्न

निलम्बित र फरार अभियुक्तलाई फेरि जिम्मेवारी ! रास्वपा मधेश प्रदेश निर्णयमाथि गम्भीर प्रश्न

स्पर्श खबर जितपुर बारा माघ २४ गते:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशमा निलम्बन भइसकेका तथा आपराधिक मुद्दामा फरार व्यक्तिलाई पुनः संवेदनशील जिम्मेवारी दिइएको विषयले ठूलो विवाद सिर्जना गरेको छ।
जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँले बारा जिल्ला पचरौता नगरपालिका वडा नं. ४ का स्थानीय विनोदकुमार यादवलाई ठगी मुद्दामा पक्राउ गरी अदालतमा दाखिला गराइसकेको तथ्य सार्वजनिक भइसकेको छ। साथै, यादवविरुद्ध लागू औषधसम्बन्धी मुद्दा पनि चलिरहेको र सोही मुद्दामा उनी फरार रहेको प्रहरी स्रोतले जनाएको छ।
यही प्रकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेश समितिले पार्टीको विधान र प्रदेश समितिको निर्णयअनुसार विनोदकुमार यादवलाई निलम्बन तथा कारबाही गरेको थियो। मधेश प्रदेश सभापति तापेश्वर यादवको हस्ताक्षरसहित पार्टीको आधिकारिक लेटरप्याडमा उक्त निर्णय सार्वजनिक गरिएको थियो।
तर आश्चर्यजनक रूपमा, मिति २०८२/१०/२३ मा गरिएको अर्को निर्णय सार्वजनिक हुँदा विवाद चुलिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी मधेश प्रदेश कार्यालयकै लेटरप्याडमा संघीय निर्वाचन सम्पादन मधेश प्रदेश समिति गठन गरिएको जानकारी दिइँदा, पहिले नै निलम्बनमा परेका तथा लागू औषध मुद्दामा फरार रहेका विनोदकुमार यादवलाई सो समितिको सदस्य तोकिएको उल्लेख गरिएको छ।
यस घटनाले पार्टीभित्र निर्णयको वैधता, नैतिकता र विधान पालनामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीय बासिन्दा तथा पार्टीसम्बद्ध कार्यकर्ताहरूले निलम्बित र कानुनी मुद्दामा मुछिएका व्यक्तिलाई पुनः जिम्मेवारी दिनु स्पष्ट रूपमा नियमविपरीत भएको र यसले पार्टीको छविमा गम्भीर धक्का पुगेको प्रतिक्रिया दिएका छन्।यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष चन्दन सराफले पार्टीको निर्णय विधानविपरीत भए तुरुन्तै खारेज हुनुपर्ने बताएका छन्। उनले भने, “यदि पार्टीको निर्णय विधान र सिद्धान्तविपरीत छ भने त्यसलाई तत्काल सच्याउनुपर्छ।”
केन्द्रीय नेतृत्व र मधेश प्रदेश समितिबाट स्पष्ट जवाफ नआएसम्म यो विवाद अझ गहिरिँदै जाने संकेत देखिएको छ।