पर्साले नपत्याएपछि बारा हाम फालेका रहबर अन्सारीलाई बारा–४ ले किन भोट देओस् ?
मनोज शाह जितपुर बारा माघ १८ गते:
चुनाव आयो कि मात्रै देखिने नेताबाट हामी दिक्क भइसकेका छौं” भन्ने आवाज बारा क्षेत्र नम्बर ४ का विभिन्न स्थानमा तीव्र रूपमा उठ्न थालेको छ। आगामी चुनाव नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहबर अन्सारी भोट माग्दै गाउँ–बस्ती पुगेपछि स्थानीय मतदाताले खुलेर असन्तुष्टि व्यक्त गरेका हुन्।
स्थानीयका अनुसार रहबर अन्सारीले अघिल्लो (२०७४) चुनावमा विकास, रोजगारी, शिक्षा र स्वास्थ्य सेवामा सुधार ल्याउने ठूला आश्वासन दिएका थिए। तर चुनावपछि जनताको समस्या समाधान त परै जाओस्, उनी जनताबीच कहिल्यै नदेखिएको पर्सा जिल्लाका स्थानीय इसु मियाको आरोप छ।
श्रीपुर–११ का एक मतदाताले स्पष्ट शब्दमा भने,
“भोट माग्दा मीठा कुरा गर्छन्, चुनाव सकिएपछि फोनसमेत उठ्दैनन्।”
बेरोजगारी, शिक्षा र आधारभूत सेवाका समस्या वर्षौंयता उस्तै रहेको भन्दै स्थानीय आक्रोशित छन्। उनीहरू भन्छन्—समस्या समाधान गर्नुको साटो नेताहरू भाषण, फोटो सेसन र प्रचारमै सीमित छन्।
एक युवाले आक्रोश पोख्दै भने,
“हामीलाई फोटो खिच्ने नेता होइन, काम गरेर देखाउने नेता चाहिएको हो।”
रहबर अन्सारीको पछिल्लो चुनावी गतिविधिप्रति सामाजिक सञ्जालमा पनि आलोचना चुलिँदै गएको छ। कतिपयले उनलाई ‘चुनावी नेता’को संज्ञा दिँदै प्रश्न उठाइरहेका छन्—पर्साका जनताले विश्वास नगरेपछि बारा आएर के फरक काम देखाउन सकिन्छ?
राजनीतिक विश्लेषकहरूका अनुसार पर्सामा देखिएको यही असन्तुष्टि अहिले बारा–४ मा पनि देखिन थालेको छ, जुन रहबर अन्सारी र राष्ट्रिय स्वतन्त्र पार्टीका लागि गम्भीर चेतावनी हो। निरन्तर जनसम्पर्क, पारदर्शिता र परिणाममुखी काम बिना जनविश्वास जित्न कठिन हुने उनीहरूको भनाइ छ।
रहबर अन्सारी मधेस प्रदेश सभा सदस्य हुँदै पर्सा जिल्लाबाट राजनीति गरेका व्यक्ति हुन्। पर्साका जनताले नपत्याएपछि पर्सा छोडेर बारा क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका छन्। तर बारा–४ का स्थानीयहरू अहिले ठाडो प्रश्न सोधिरहेका छन्—
“हाम्रो क्षेत्रमा रहबर अन्सारीको के योगदान छ ? के लगानी छ ? के भरोसा गर्ने आधार छ ?”
परवानीपुरका स्थानीय समसुल मियाले प्रश्न उठाउँदै भने,
“पर्सामा काम देखिएन, यहाँ आएर के देखिन्छ ? नाम र पार्टी मात्रै भएर भोट दिन सकिँदैन।”
यसपटक बारा–४ का मतदाताले भाषण होइन, कामका आधारमा मत दिने मनस्थिति बनाएको देखिन्छ। भोट माग्न चुनावमा मात्रै होइन, सधैं जनताको साथमा रहने नेताको खोजीमा जनता छन्। अब प्रश्न खुला छ—बारा क्षेत्र नम्बर ४ का जनताले राष्ट्रिय स्वतन्त्र पार्टी र रहबर अन्सारीलाई भोट दिने आधार के हो ?


