बारामा राष्ट्रिय युवा संघको जागरण अभियान विथोल्ने प्रयासप्रति एमाले नेतृ सरिता सापकोटाको कडा प्रतिक्रिया

बारामा राष्ट्रिय युवा संघको जागरण अभियान विथोल्ने प्रयासप्रति एमाले नेतृ सरिता सापकोटाको कडा प्रतिक्रिया

स्पर्श खबर जितपुर बारा मंसिर ३ गते:

बारामा आज राष्ट्रिय युवा संघ नेपाल, मधेस प्रदेश कमिटीद्वारा आयोजित जागरण अभियानलाई विथोल्ने प्रयास भएको घटनाप्रति नेकपा एमालेकी नेतृ तथा अनेमसंघकी केन्द्रीय सदस्य सरिता सापकोटाले कडा आपत्ति जनाएकी छन्।

उनी अनुसार, पार्टी र नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले विभिन्न षड्यन्त्रपूर्ण गतिविधिहरू गरिँदै आएको छ, जसलाई एमालेले गम्भीरतापूर्वक नियालिरहेको स्पष्ट गरेकी छन्। सापकोटाले हालको व्यवस्था ठूलो संघर्ष र बलिदानपछि निर्माण भएको जनाउँदै, देशमा बोल्ने, लेख्ने, पार्टी खोल्ने र अभियान चलाउने अधिकार सबैलाई सुनिश्चित भएको बताइन्।

उनले भनिन्, “यो देश कुनै एक पुस्ताको विर्ता होइन, सबै पुस्ताको समान सम्पत्ति हो। हाम्रो पार्टी विचार र सिद्धान्तमा आधारित राजनीति गर्छ र देशको भविष्य बोकेर अविचलित ढंगले अघि बढिरहेको छ।”

बाराजस्तो धार्मिक र पवित्र भूमिमा अराजकता र भडकाउने तत्वहरूको गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै सापकोटाले चेतावनी दिँदै भनिन्, “खबरदार, इट्टाको जवाफ ढुंगाले दिन हामी पछि हट्ने छैनौं।”

यस घटनापछि एमाले कार्यकर्ताहरूले पनि कार्यक्रम विथोल्ने प्रयासप्रति असन्तोष व्यक्त गर्दै, आगामी दिनमा यस्ता अराजक गतिविधि दोहोरिन नदिन प्रशासनले ध्यान दिनुपर्ने माग गरेका छन्।