मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण

स्पर्श खबर जितपुर बारा भदौ १ गते:

मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण

काठमाडौँ उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका ४१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १९ ओटा मोटरसाइकल र २२ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गर्नुभएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यका स्थित जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी,लैनचौर,चापागाउँ नयाँबानेश्वर, हात्तिसार,एयरपोर्ट,सिफल,पुरानोबसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार,नयाँबसपार्क र बालाजु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका ४१ ओटा सहित ५२ ओटा सवारी साधन गत साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ ।