सार्क-सेना र राष्ट्रिय चरित्र

काठमाडौँ —शिष्टता सिक्नु छ भने पाकिस्तानी समाजबाट सिक्नु । विदेशका आगन्तुक र विशेषतः महिलाप्रति देखाइने सम्मान र शिष्टता उच्चस्तरको पाइन्छ, त्यहाँ । अर्कातर्फ पाकिस्तानका अल्पसंख्यक र विशेषतः गैरमुसलमानमाथिको सामाजिक तथा सरकारी विभेद ज्यादै कठोर, निर्मम र निन्दनीय छ ।

हरक्षेत्रका सरकारी अवसरमा गैरमुसलमानका लागि अन्यायपूर्ण कोटा निर्धारण गरिएका कारण अति मेधावी विद्यार्थी तथा नागरिकले समेत विभेदकारी अवसर मात्र पाउँछन् । पाकिस्तानमा हिन्दुको संख्या २.१७ प्रतिशत (सन् २०२३) मात्र छ । अत्यधिक हिन्दु मठ–मन्दिर भत्काइएको वा छेकबार गरी राखिएको छ भने अलपत्र छाडिएका मन्दिरमा फोहोर गर्ने/फाल्ने गरेको पाइन्छ । केही जोगाएर राखिएका मन्दिर (सिन्ध प्रान्त) मा दर्शन गर्न पाइन्छ भने केही ठाउँ (क्वेटा) मा त अग्लो कम्पाउन्डको सानो ढोकामा ढकढक गरेपछि भित्र प्वालबाट चिहाउने पण्डितलाई कानमा ‘जनै’ हालेर देखाएपछि मात्र मन्दिरमा प्रवेश दिइन्छ । विभेदबाट जोगिन कतिपय हिन्दुले कुनै अर्थ नलाग्ने ‘थर’ समेत लेख्ने गरेका छन् । धेरैजसो अल्पसंख्यक क्रिश्चियनले सरसफाइको काम गर्ने गरेको देखिन्छ ।

जर्नेल जिया उल हक सरकार प्रमुख हुँदा पाकिस्तानको प्रतिनिधिसभामा अल्पसंख्यकको प्रतिनिधित्व गर्न देशभरका लागि निश्चित कोटा छुट्टयाई प्रतिनिधि चुन्ने चुनावी व्यवस्था सुरु गराए । यो व्यवस्थाबाट देशको कुनै एक ठाउँको मान्छेले देशभरको अल्पसंख्यकको प्रतिनिधित्व गर्ने भयो । यसभन्दा अगाडिको व्यवस्थामा अल्पसंख्यक गैरमुसलमान जनताले आ–आफ्नो चुनावी क्षेत्रको उम्मेदवारलाई भोट हाल्थे र जित्ने प्रतिनिधिले साम्प्रदायिक दंगाफसाद हुँदा उनीहरूको रक्षा गर्थे । तर, जियाका कारण अब त्यो सुरक्षा कबचबाट उनीहरू वञ्चित हुन बाध्य भए । भेदभावको सिकार हुँदा उनीहरूलाई बचाउने कोही भएनन् । टिक्नै नसकेर पलायन हुन बाध्य भएका हिन्दुहरू कौडीको मूल्यमा आफ्नो सम्पत्ति बेचेर भारतमा आएपछि पनि बसोबास गर्न अचाक्ली महँगोमा घरजग्गा किन्न बाध्य भए ।बंगलादेशमा हिन्दुको जनसंख्या १ करोड ३१ लाख (७.९५ प्रतिशत, सन् २०२२) छ । बंगलादेशले पनि पाकिस्तानी पदचाप नै अंगीकार गरेका कारण अवस्था उस्तै रहेन । जमिन भएका केही हिन्दुले अनेक कुरा मिलाएर भारतको पश्चिम बंगालमा बसेर आफ्नो सम्पत्ति संरक्षण गरिरहेको बुझिन्छ । तर, धेरैजसो हिन्दु आफ्नो सम्पत्ति जोगाउन बाध्यतावश मुसलमान भएर बसेका छन् । तिनीहरू गाईको मासु खाँदैनन् र भित्रभित्रै हिन्दु संस्कारमा नै रहने गरेको पनि बुझिन्छ । गत साता, प्रधानमन्त्री शेख हसिनाले देश छाडी भागेपछि उनको पार्टी अवामी लिगका मान्छे, तिनका सम्पत्तिसँगै हिन्द् ुर हिन्दु मठमन्दिरमाथि पनि आक्रमण र लुटपाट भयो । अब, नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नयाँ सरकारले स्थितिलाई छिट्टै काबुमा ल्याउला भन्ने आशा गर्न सकिन्छ ।

विगतमा, पूर्वी पाकिस्तानलाई आफूबाट छुछ्याई बंगलादेश बनाएकामा पाकिस्तानी र विशेषतः सेना अति नै रुष्ट देखिन्छ । ‘हमें काटा है ना सर, हम भि कुछ करेंगे । जरुर करेंगे । एकबार तो दिखाना है, जरुर दिखाएंगे ।’ यस किसिमको भाषा बोल्छन् पाकिस्तानी सेनाका तल्लो तहका जवान । यतिबिघ्न इख साधिराखेका छन् उनीहरूले भारतप्रति । त्यसैगरी, सेनामा माथिदेखि तल्लो तहसम्मका सकल दर्जालाई यसरी ‘मोटिभेट’ गरिएको छ कि उनीहरूको दिमागमा ‘हिन्दुज आर इन्डियन्स, इन्डियन्स आर आवर इनेमिज, दे सुड बि किल्ड’ भन्ने भावना हालिएको छ । यस्तो किसिमको प्रेरणाले पाकिस्तानी सेनामा एउटा विशिष्ट ‘फोर्स मल्टिप्लाएर’ को काम गरेको छ । अर्थात्, एउटा जवान मात्रले पनि एकभन्दा बढी संख्याको फौजले ल्याउने नतिजा हासिल गर्न सक्छ ।यता, भारतीय सेनालाई कुनै किसिमबाट यसरी प्रेरित गरिएको पाइँदैन । देश र सेनाको ठूलो आकार तथा आर्थिक र प्राविधिक उन्नतिका कारण भारतीय सेनामा पाकिस्तानी सेनालाई कम आकलन गर्ने मनोविज्ञान छ । यदि ठूलो लडाइँ भएर भारतीय सेनाले पाकिस्तानको अस्तित्व नै संकटमा ल्याउने अवस्था आएमा पाकिस्तानले प्रतीकारात्मक रणनीति ‘डेटेरेन्स स्ट्राटेजी’ अनुरूप आणविक हतियार प्रयोग गर्न सक्छ । अन्यथा, पाकिस्तानले अनुकूलता र आवश्यकता हेरी ‘ट्याक्टिकल न्युक्लियर वेपन’ प्रयोग नगर्ला भन्न सकिँदैन । भारत, पाकिस्तान र बंगलादेशजस्ता सार्क राष्ट्रका सेनाको व्यावसायिक क्षमता स्तरमा धेरै फरक पाइँदैन । ‘कमन वेल्थ कन्ट्रिज’ कै आधार भएका कारण पनि होला । स्रोतसाधनको सम्पन्नतामा भने पक्कै समानता छैन ।

तुलनात्मक हिसाबमा नेपाली सेनाको व्यावसायिक स्तर राम्रो छ । उपरोक्त मुलुकका सेनाका उम्दा सकल दर्जाका अगाडि नेपाली सेनाका उम्दा सकल दर्जालाई १ देखि १०० सम्मको श्रेणीमा मूल्यांकन गर्दा उनीहरूको ३ देखि १० सम्मको श्रेणीमा नेपाली सेना पर्न सक्छ । कतिपय बेला नेपाली सेनाका शिक्षार्थीले पूरै कोर्समा पहिला भएको नजिर पनि छ भने ‘बेस्ट फरेन स्टुडेन्ट्स’ को पुरस्कार त धेरैजसोले पाउँछन् नै । अफगानिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सका सेनाहरूको व्यावसायिक ज्ञानको स्तर तुलनात्मक हिसाबले अलि कम देखिन्छ, तापनि उनीहरूले भोगेको ‘फिल्ड एक्स्पेरियन्स’ अरू सेनामा पाइँदैन ।सभार कान्तिपुर । तामिल विद्रोहीसँगको लडाइँका बेला श्रीलंकाली सेनाले आधुनिक हतियारसहित व्यापक अपरेसनल क्षमता विकास गर्‍यो र विद्रोहीमाथिको विजयपश्चात् त श्रीलंकाली सेना अति नै सक्षम भयो ।