जीतपुरसिमरा एक्स्पो २०२४ आयोजना हुँदै

जीतपुरसिमरा एक्स्पो २०२४ आयोजना हुँदै

मनाेज शाह जितपुर बारा फागुन ७ गते:

प्रथम जीतपुरसिमरा महोत्सव आयोजना हुने भएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गते देखि फागुन २९ गते सम्म प्रथम जीतपुरसिमरा महोत्सव एवम् एक्सपो आयोजना हुन लागेको हो । ‘कृषि, पर्यटन, खेल, उद्योग, व्यापार, जीतपुरसिमरा, बारा, मधेश समृद्धिको मुख्य आधार’ भने मुल नारा सहित उद्योग वाणिज्य संघले पहिलो पटक महोत्सव आयोजना गर्न लागेको हो ।

सिंगो जीतपुरसिमरा उपमहानगरलाई प्रतिनिधित्व गर्दै उद्योग वाणिज्य संघले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा महोत्सव एवम् एक्सपो गर्न लागेको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले एक पत्रकार सम्मेलनको आयोजना गराउदै महोत्सव एवम् एक्स्पो बारे जानकारी दिएको हो ।

कुल अनुमानित ४५ लाखको लागतमा महोत्सवको तयारी थालिएको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताउनुभयो । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ब्रान्डहरूले आफ्नो प्रदर्शनी गर्ने छन् । महोत्सवमा विषेश स्थानीय व्यवसायीहरूलाई प्राथमिकतामा राखेर स्टल लगाउने अध्यक्ष शर्माले बताउनु भयो ।

फागुन १८ देखि सुरू हुने यस महोत्सवमा स्थानिय उत्पादनलाई विशेष स्थान दिइने जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरिले बताए । महोत्सव स्थलमा २०० भन्दा बढि स्टल रहने र हाल सम्म ११० भन्दा बढि स्टलहरू बुक भैसकेको उहाँले बताउनु भयो ।

साथै महोत्सवमा दिनहु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ ।

फागुन १८ बाट फागुन २९ सम्म चल्ने उक्त महोत्सवमा ८० हजार देखि १ लाख दर्शन सहभागी हुने अपेक्षा गरिएको छ । महोत्सव अवलोकनका लागि विद्यार्थीलाई २५, सर्वसाधारणलाई ५० र बेलुकीका लागि १०० रुपैंया दर्शकले तिर्नु पर्नेछ । जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि भने टिकट नलाग्ने ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।