दाङको राप्ती नदीमा बस खस्दा १२ जनाको मृत्यु, १७ जना घाइते

काठमाडौं, पुस २८-

दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस खस्दा कम्तिमा १२ जनाको मृत्यु भएको छ । १७ जना घाइते छन् । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खसेको थियो ।

दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए । धेरैजसोको बसले च्यापिएर मृत्यु भएको छ । घाइतेहरुलाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाइएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । मृतकहरुको सनाखत भएको छैन ।

बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । राप्ती नदी माथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्दछ ।