बीरगन्जमा यौन धन्दा चलाउने लक्ष्मी होटलमा छापा, सञ्चालक र पाँचजना युवती सहति ७ जना पक्राउ

सेयर गर्नुहोस्

पर्सा ,१२ जेठ ।

होटलमा यौन व्यवसाय चलाएको आरोपमा पर्सा प्रहरीले होटल सञ्चालक र पाँचजना युवती सहति ७ जनालाई पक्राउ गरेको छ । बीरगन्ज महानगरपालिका – १६ नगवास्थित लक्ष्मी होटल एण्ड पार्टी प्यालेसले यौन व्यवसाय चलिरहेको विशेष सूचनाको आधारमा पर्सा प्रहरीले छापामारी गरेर सञ्चालकसहित सातजनालाई पक्राउ गरेको हो । ।

पक्राउ पर्नेमा होटल सञ्चालक जिराभवानी गाउँपालिका – १ निवासी विनोद मुखियासहित दुई भारतीय कमलेश कुमार र सतिश कुमार र पाँचजना युवती रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले बिहिबार दिउँसो होटलमा छापामारी गर्दा त्यहाँ यौन धन्दा चलिरहेको थियो । यौन धन्दा चलाएर टोलमा विकृति फैलाएको स्थानीयले गरेको गुनासोको आधारमा प्रहरीले छापामारी गरेको स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार होटल सञ्चालक मुखियाले कोठा भाडामा लिन आउने ग्राहकलाई आफूसँग केटिपनि उपलब्ध रहेको बताउने गरेका थिए । त्यसपछि ग्राहकलाई ह्वाट्सएप र भाइबर मार्फत उनले केटीको फोटो पठाउँथे, ग्राहकले मनपाएको केटीलाई आफ्नै होटलमा बोलाएर यौन धन्दा सञ्चालन गर्थे ।

मुखियाले होटलमा लामो समयदेखि यौन धन्दा चलाउँदै आएको स्थानीय बताउँछन् । त्यसो नगर्न चेतवानी दिँदापनि नमानेपछि प्रहरीलाई जानकारी गराइएको उनीहरुको भनाई छ ।

बीरगन्ज बसपार्क र नगवा क्षेत्र यौन व्यवसायका लागि बद्नाम छ । यस क्षेत्रमा रहेका होटल तथा लजहरुमा प्रहरीले समयसमयमा छापामारी गरेपनि यौन व्यवसायलाई नियन्त्रण भने गर्न सकेको छैन ।