बीरगन्जबाट नक्कली नेपाली नोटसहित दुईजना पक्राउ

सेयर गर्नुहोस्

पर्सा, २१ वैशाख ।

नक्कली नेपाली नोटसहित पर्साबाट दुई जना पक्राउ परेका छन् । जिल्लाको बीरगन्ज महानगरपालिका-१६ बाट नक्कली नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

१ हजार दरको ४ सय ५० थान र ५ सय दरको ७२ थान गरी जम्मा ४ लाख ८६ हजार नक्कली रुपैयाँसहित बुधबार दिउँसो सर्लाही गोडैता नगरपालिका-१२ मधुवनी बस्ने ३४ वर्षीय आनन्द बर्दन सिंह र बारा परवानीपुर गाउँपालिका-३ बस्ने ३६ वर्षीय ओम प्रकाश साहलाई प्रहरीले पक्राउ गरेको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बसपार्कतर्फबाट प्रतिमा चोकतर्फ जादै गरेको बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी चालक सिंह र गाडीमा सवार साहलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।