सर्लाहीमा सवारी दुर्घटना हुदा दुई जनाको घटनास्थलमै मृत्यु

सेयर गर्नुहोस्

सर्लाही, वैशाख ७ गते ।

सर्लाही जिल्लामा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको लालबन्दी नगरपालिका ६ मा बिहीबार बिहान ७ बजेतिर ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्र. २–०३–००१ ख ८१५ नम्बरको ट्रकले लालबन्दी नगरपालिका ६ स्थित पूर्व–पश्चिम राजमार्गको कालिञ्जोर खोलाको पुल नजिक ठक्कर दिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । ठक्करबाट मोटरसाइकल चालक र पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको हो । उनिहरुको पहिचान भने खुल्न सकेको छ्रैन ।

मृतक द्वय पुरुषको शव पोस्टमार्टमका लागि सदरमुकाम मलङ्गवा पठाउने तयारी भइरहेको लालबन्दीका प्रहरी नायव उपरीक्षक शान्त राम कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक लालबन्दी प्रहरीको नियन्त्रणमा छन् ।