चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने मन्त्रिपरिषद्‍को निर्णय

सेयर गर्नुहोस्

चितवन,चैत २१-

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र परेको छ । कलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेले रंगशाला निर्माणको क्रममा लागेको १८ करोड ऋण तिर्न नसकेको भन्दै भरतपुर महानगरपालिकालाई जिम्मा लगाउँदै निर्माण रोकेका थिए ।

केही साताअघि फाउन्डेसनका संस्थापक कट्टेलले रंगशालाको स्वामित्व लिनका लागि सरकारलाई आह्वान गरेका थिए । सोमबारको मन्त्रिपरिषद्‍को निर्णयसँगै अब चितवनको क्रिकेट रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको छ ।