बारामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

सेयर गर्नुहोस्

बारा, चैत्र १० गते ।

बाराको निजगढ–रतनपुर सडकखण्ड अन्तर्गत निजगढ नगरपालिका वडा नम्बर १३ साँखु नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको  मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक निजगढ नगरपालिका वडा नम्बर १३ बेसिगाउँ निवासी हर्कबहादुर विकका छोरा वर्ष १८ का दिपक विकको   मृत्यु भएको हो । डम्बरपुरबाट बेसिगाउँ घरतर्फ फर्कने क्रममा विकले चलाएको ना २३ प ६२७७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल अनियन्त्रित भएर साँझ ६ः ४० बजे साँखु नजिकै सडक छेउमा रहेको पोलमा ठोक्किएको थियो । दुर्घटनामा घाइते विकको उपचारको लागि हेटौडास्थित चुरे हिल अस्पताल पठाइएकोमा उपचारको क्रममा राति नै मृत्यु भएको अफन्तले बताएका छन ।

दुर्घटनामा सोही मोटरसाईकलमा पछाडि सवार निजगढ–१३ निवासी वर्ष ३१ का चन्द्रबहादुर वि.क. र वर्ष १७ का निमराज मोक्तान घाइते भएका छन । घाइते चन्द्र र मिमराजको निजगढस्थित सामुदायिक अस्पतालमा उपचारपछि घर पठाइएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ । सो सडक खण्डमा यसअघि पनि पटकपटक सडक दुर्घटना हुदै आएको छ । यसअघि गत फाल्गुन २२ गते होली पर्वको दिन सोही स्थान नजिकै मोटरसाइकल दुर्घटना हुँदा हेटौंडा–१६ आकाशधारा निवासी वर्ष ३० का सोमलाल बम्जनको पनि मृत्यु भएको थियो ।