१३औं जीतपुरसिमरा गोल्डकप चैत्र ९ देखि

सेयर गर्नुहोस्

बारा, फाल्गुन २९ गते ।

मोफसलको प्रतिष्ठत फूटबल प्रतियोगिताको रुपमा स्थापित जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३औं संस्करण चैत्र दोस्रो साता सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत्र ९ गतेदेखि सुरु हुने जानकारी गराएको हो ।

ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहने प्रतियोगिता यस वर्ष पनि फ्लड लाईट मुनी हुने भएको छ । पछिल्लो दुई संस्करणदेखि आयोजकले रात्री समयमा प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

गर्मी मौसमलाई ध्यानमा राख्दै रात्री समयमा आयोजना हुन लागेको प्रतियोगितामा साविक विजेता न्युरोड टिम एनआरटी, विभागिय टिम एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाईज युनाईटेड, सातदोबाटो युथ क्लब, मोफसलका केबिए ग्लोबल बिएफसी चितवन, मकवानपुर ११, बागमती युवा क्लब, वीरगन्ज युनाइटेड क्लब र आयोजकको सहभागिता रहने जनजागृति क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए ।

एन्फाले तय गरेको क्यालेण्डर अनुसार आयोजकले प्रतियोगिताको तयारी गरिरहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्दा विधागततर्फका उत्कृष्ट र उदयीमान जनही १५ हजार प्राप्त गर्ने महासचिव ठकुरीले बताए ।

प्रतियोगिता सफल बनाउन जीतपुरसिमरा उपमहानगरपालिकाले अघिल्लो वर्षजस्तै २५ लाख रुपैया सहयोग गर्ने भएको छ । यसैगरी प्रतियोगितालाई यस वर्ष पनि जगदम्बा स्टील्स् प्रालिले मुख्य प्रायोजन गर्ने भएको छ ।

१३औं संस्करणदेखि प्रतियोगितामा जोडिएको जगदम्बा स्टील्स्ले यस वर्षपनि सम्झौतालाई निरन्तरता दिने भएको हो । जगदम्बा स्टील्स् र आयोजक क्लबबीच पत्रकार सम्मेलनमै सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । जगदम्बा स्टील्स्कातर्फबाट कर्पोरेट भाइस प्रेसिडेन्ट कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

क्लबसंगको सम्झौता नविकरण गर्दै जगदम्बा स्टील्स्का कर्पोरेट भाइस प्रेसिडेन्ट भट्टले गोल्डकपको निरन्तरताका लागी सहकार्य गर्दै अघि बढ्ने बताए । खेलकुदको माध्यमबाट सिमराको पहिचान देशभर स्थापित भईरहेको बताउदै भट्ले सहकार्यका लागि आफूहरु उत्साहित रहेको समेत बताए ।

पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले गोल्डकप सफल बनाउन स्थानीय सरकार सधै तत्पर रहेको बताए । उपमहानगरपालिकाले गोल्डकपलाई गर्दै आएको सहयोगलाई निरन्तरता दिदै जाने बताउदै उपप्रमुख अधिकारीले प्रतियोगिताको अभिभावकिय भूमिका लिन समेत पछि नपर्ने बताए ।

चैत्र १८ गतेसम्म संचालन हुने प्रतियोगिताको तयारी र मैदान व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको आयोजक क्लबले जनाएको छ । सुर्य नेपाल प्रालिको सहयोगमा यस वर्ष फ्लड लाइटको क्षमता समेत विस्तार गरिएको छ । अघिल्ला वर्षमा देखिएका प्राविधिक कमजोरीलाई सुधार गर्दै १३औं संस्करणको तयारी गरिरहेको क्लबले जनाएको छ ।

सुर्य नेपाल, हुलास स्टील्स् सहप्रायोजक रहने प्रतियोगितालाई सफल बनाउन राखेप, एन्फा, नगर उद्योग वाणिज्य संघ, लुम्बिनी जनरल इन्स्योरेन्स, युआर अटोमेटिक लण्ड्र, एलएस न्युरो अस्पताल, स्टार पोलि क्लिनिक, सुसप्त मेडिकललगायत विभिन्न संघसंस्थाले प्राविधिक तथा व्यवसायिकरुपमा सहयोग र सहकार्य गर्ने भएका छन् ।

पत्रकार सम्मेलनमा क्लबका पूर्वअध्यक्ष कासिम मियाँ, प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्री, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष अर्जुन लम्साल, क्लबका सल्लाहकार दिनेश राई, सुमनकुमार भट्टराईलगायत क्लबका पदाधिकारी, सदस्यको उपस्थिती रहेको थियो ।