नागरिकता विधेयक अगाडि बढाउने प्रचण्ड सरकारको तयारी

सेयर गर्नुहोस्

काठमान्डौ, २३ माघ ।

सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सबै राजनीतिक दलका प्रमुख सचेतक र दलका प्रतिनिधिहरूलाई बोलाएर नागरिकता विधेयक अगाडि बढाउने तयारी रहेको बताएका छन् ।

नागरिकतालगायतका एक दर्जन विधेयकहरु चालु अधिवेशनमै संसदमा ल्याउने सरकारको तयारी रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन । यस अनुसार सम्बन्धित मन्त्रीहरुलाई समेत निर्देशन दिइसकिएको प्रधानमन्त्री प्रचण्डले जानकारी गराए ।

प्रधानमन्त्रीमा विश्वासको मत माग्दै गदौ प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले ६ महिनाभित्र नागरिकता कानून बनाउने बाचा गरेका थिए । आफ्नो बाचा अनुसार नै नागरिकता ऐन बनाउने आफ्नो चाहना रहेको दलका प्रतिनिधिहरु समक्ष प्रधानमन्त्री प्रचण्डले राखेका छन् । गृहमन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहेका छन् । नागरिकता विधेयक अगाडि बढाउने मन्त्रालय पनि गृह मन्त्रालय हो ।

अघिल्लो कार्यकालमा धेरै छलफल भएर पनि नागरिकता ऐन बन्न सकेको थिएन । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई पटक पारित गरेर पठाउँदा समेत राष्ट्रपतिले प्रमाणीरण नगरिदिँदा नागरिकता ऐन बन्न नसकेको हो ।

अघिल्लो कार्यकालमा मुख्यत विदेशी बुहारीको विषयमा दलहरुका विषयमा कुरा मिलेको थिएन । तत्कालीन अवस्थामा नेकपा एमालेले नेपाली पुरुषसँग बिबाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता (वैवाहिक अंगीकृत नागरिकता) दिनुपर्ने विषयमा अडान लिएको थियो ।

सरकारमा सँगै रहँदा माओवादी केन्द्रले पनि यही विषयमा आफ्नो अडान राखेको थियो । तर, पनि कांग्रेस नेतृत्वमा सरकार बनेपछि ०६३ अनुसार नै विवाह गरेर आए लगत्तै वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधानको निरन्तरताको पक्षमा माओवादी केन्द्र रहेको थियो । अहिले फेरि एमाले र माओवादी सरकारमा छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार नागरिकता लगायत, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य सम्बन्धी विषयमासमेत विधेयकहरु तयार भएका छन् । तयार भएका विधेयकहरुलाई सदनमा लैजाने तयारी सम्बन्धित मन्त्रालयलाई गर्न निर्देश गरिएको छ । साभार: अनलाइन खबर