स्पर्श खबर जितपुर बारा साउन ३ गते:
विश्वका शक्तिशाली पासपोर्ट (राहदानी) हरूको सूचीमा नेपाल १०३ देशमध्ये ९८ औं स्थानमा परेको छ ।
सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको सूचीमा नेपाली पासपोर्ट अन्तिमबाट आठौं स्थानमा परेको हो ।द हेन्ली पासपोर्ट इन्डेक्स’ले विश्वका सबैभन्दा शक्तिशाली तथा कम शक्तिशाली पासपोर्टको नामसहित सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको पासपोर्ट ३८ वटा मुलुकमा मात्रै अनरआइभल भिसा लाग्छ ।
सूचीअनुसार सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ । सूचीको १०३ औं स्थानमा रहेको अफगानस्तानको पासपोर्टले २७ वटा मुलुकमा मात्रै अनअराइभल भिसा लाग्छ । त्यसपछि रहेको इराकको पासपोर्टले २९, सिरियाको पासपोर्टले ३०, पाकिस्तानको पासपोर्टले ३३, यमन र सोमालियाका पासपोर्टले ३५ स्थानमा अनअराइभल भिसा पाउँछन् । द्वन्द्वग्रस्त मुलुक प्यालेस्टाइनको पासपोर्ट र नेपालको पासपोर्टले भने ३८ मुलुकमा अनअराइभल भिसा पाउँछन् ।
यी मुलुकभन्दा उत्तर कोरियाको पासपोर्ट शक्तिशाली छ । उत्तर कोरियाको पासपोर्टले ३९ मुलुकमा यस्तो भिसा पाउँछ । त्यसभन्दा पछि बंगलादेशले ४०, श्रीलंका र लिबियाले ४१ त्था कोसोभोले ४२ देशमा अनअराइभल भिसा पाउँछन् ।
सूचीमा सबभन्दा शक्तिशाली पासपोर्टको पहिलो स्थानमा रहेको सिंगापुर रहेको छ । त्यहाँको पासपोर्टले १९२ मुलुकमा अनअराइभल भिसा पाउँछ भने त्यसपछि क्रमशः जर्मनी, इटली र स्पेनले १९० मुलुकमा अनअराइभल भिसा पाउँछन् ।
यो अध्ययन अन्तर्राष्ट्रिय हवाइ यातायात प्राधिकरण (आईएटीए) को विशेष डेटामा आधारित रहेको हेन्ली पासपोर्ट इन्डेक्सले जनाएको छ । अध्ययनमा १९९ राहदानी र २२७ वटा यात्रा गन्तव्यहरू समावेश गरिएको जनाइएको छ ।