स्पर्श खबर जितपुर बारा चैत ३० गते:स्वदेशी, विदेशी र ठूलो आकारका आयोजनाहरू नेपाल लगानी बोर्डमार्फत अगाडि बढाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बिहीबार बसेको लगानी बोर्डको ५३औं बैठकले यस्तो आयोजना अगाडि बढाउने निर्णय गरेको हो ।
अर्थमन्त्री प्रकाशशरण महतका अनुसार ऊर्जा क्षेत्रमा जलविद्युत् आयोजनालाई अघि बढाउने निर्णय भएको छ । तल्लो अरुण, माथिल्लो मर्स्याङ्दी, दूधकोशी–२ लगायत जलविद्युत् आयोजनालाई अगाडि बढाउने लगानी बोर्डको बैठकले निर्णय गरेको छ । त्यसैगरी सिमेन्टमा लगानी भएका आयोजना उत्पादन तहमा पुगेको भन्दै यससम्बन्धमा पनि केही निर्णय भएको मन्त्री महतले बताए ।
रासायनिक मल उत्पादनको सम्बन्धमा पनि लगानी बोर्डले केही निर्णय गरेको छ । ‘मल उत्पादनका लागि वैदेशिक लगानीकर्ताले विस्तृत अध्ययन गर्न अनुमति पर्खिरहनुभएको छ,’ लगानी बोर्डका उपाध्यक्ष समेत रहेका अर्थमन्त्री महतले भने, ‘दुईवटा वैदेशिक लगानीकर्तालाई अनुमति दिने प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।’
लगानीसँग जोडिएका अन्य धेरै विषयमा बोर्डमा छलफल भएको उनको भनाइ थियो । ‘यतिबेला लगानी विभिन्न चरणमा छन्, कोही अध्ययनको चरणमा छन्, कोही सम्पन्न हुने चरणमा छन्, कोही कार्यान्वयनको चरणमा पुगेका छन्,’ उनले भने, ‘यी विभिन्न चरणमा भएका आयोजनाहरूलाई अगाडि बढाउने र त्यो सँगसँगै आगामी दिनमा लगानी बोर्डको प्राविधिकलगायत अन्य क्षमतामा वृद्धि गरी भविष्यमा थप लगानीको परिवेश निर्माण गर्ने कुरामा छलफल भएको हो ।’सभार कान्तिपुर दैनिक ।बोर्ड बैठकमा कार्यविधि, ऐनमा संशोधन गर्नुपर्ने कुरा उठेको उनले बताए । ‘यस विषयमा सरकारले आवश्यकताअनुसार निर्णय लिनेछ,’ उनले भने, ‘आगामी दिनमा लगानी सम्मेलन गर्ने विषय पनि उठेको थियो, त्यसको उपयुक्त मिति पछि टुंग्याइनेछ ।’