स्पर्श खबर जितपुर बारा फागुन २२ गते:
सिरहाको धनगढीमाई नगरपालिका–१३ र ८ मा अवैध रूपमा ढुंगा–गिटी र बालुवा उत्खनन हुँदा मानवबस्ती जोखिममा परेको छ। अवैध उत्खननका कारण करिब दुई हजार पाँच सय मानिस विस्थापित हुने जोखिम बढेको हो। ढुंगा–गिटी र बालुवा खानीका नाममा भइरहेको अवैध उत्खननबाट पीडित धनगढीमाई–१३ भोर्लेनी खजनपुरिया टोलका मनोज यादव भन्छन्, ‘चार पुस्तादेखि बस्दै आएको थातथलो छोडेर भाग्नुपर्ने अवस्था आएको छ।
ढुंगा–गिटी र बालुवा खानी माफियाले बस्तीको चारैतिर ठुल्ठुला खाल्डा खनेर घरखेत नै उजाड पार्न थालिसके। अब सरकारले कि अवैध र अनियन्त्रित उत्खनन रोक्नुपर्छ कि हामीलाई अन्यत्र सारिदिनुपर्छ।’ उनले स्थानीय सरकारले जनतालाई राहतभन्दा आघात पुर्याउने काम गर्दै आएको दुखेसो पोखे। उनले भने, ‘स्थानीय सरकारले निमुखा जनतालाई राहत होइन, आहत दिँदैछ।
बस्ती मास्ने र असुरक्षा बढाउने उत्खनन रोक्न वडा कार्यालयदेखि नगरपालिकासम्म गुहार लगाउँदा पनि सुनुवाइ भएको छैन।’ खजनपुरियाका मनोज मात्र होइन, लगडी टोल, बलडारा, भोर्लेनी गरी दुई हजार पाँच सय मानिस सबैको पीडा यही हो। मनोज अहिले ३५ वर्षका भए। उनका हजुरबुवा जयजयराम साबिक कमलपुर गाउँबाट भोर्लेनी सरेका थिए। गागन खोलाले खेत कटान गर्न थालेपछि थातथलो छाडेर जयजयराम भोर्लेनी आएका थिए।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।