स्पर्श खबर जितपुर बारा माघ १८ गते:
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको डेढ वर्ष बित्दा पनि पार्टीले पूर्णता पाउन सकेको छैन् । डेढ वर्षदेखि लोसपा केन्द्रीय समिति विना नै सञ्चालन भइरहेको हो । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अलग भएर ठाकुरले २०७८ भदौ २ गते निर्वाचन आयोगमा लोसपा दर्ताका लागि निवेदन दिएका थिए । भदौ ९ गते दलको मान्यता प्राप्त गर्दा आयोगमा ३३ सदस्यीय कार्यकारिणी समिति सदस्यको नामावली बुझाइएको थियो । हालसम्म सोही समितिबाट पार्टी सञ्चालन भइरहेको छ । ३३ सदस्यीय कार्यकारिणी समितिमा रहेका नेताहरूमध्ये तीन जनाले त पार्टी नै छाडिसकेका छन् । विधानअनुसार कार्यकारिणी समिति ५२ सदस्यीय रहेको भनिएकोमा त्यसलाई समेत पार्टीले पूर्णता दिन सकेको छैन । पार्टी गठन भएपछि स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव सम्पन्न भइसकेको छ । दुईवटा सरकारलाई सो पार्टीको समर्थन पनि छ । तर पार्टीको केन्द्रीय समितिसँगै कुनै निकाय, विभाग, समितिहरू पनि बन्न सकेको छैन् ।
भ्रातृ सङ्गठनहरूको नामकरण भएको छ तर सङ्गठन विस्तार भएको छैन् । केही प्रदेश तथा जिल्ला कमिटी बनाइएको छ । तर सबै जिल्ला तथा प्रदेशले पूर्णता पनि पाएको छैन् । बेलाबेला केन्द्रीय समिति बनाउनेबारे पार्टीमा कुरा उठे पनि कार्यान्वयन हुन सकेको छैन् । लोसपामा एक जना अध्यक्ष भए पनि विगतको राजपाको अध्यक्ष मण्डलमा जस्तै चार जनामा भागबन्डा हुने गरेको छ । राजपा हुँदा छ जनाको अध्यक्ष मण्डल थियो । त्यसमध्ये महेन्द्र राय यादव र राजकिशोर यादव अन्य पार्टीमा गइसकेका छन् । तत्कालीन राजपामा रहेका अध्यक्ष मण्डलको सदस्यमध्ये महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा लोसपामा रहेका छन् । लोसपामा यिनै चारजनाको बीचमा हरेक कुराको भागबन्डा हुने गरेको छ । लोसपाका एक जना कार्यकारिणी सदस्यले भने, ‘राजपाको अध्यक्ष मण्डल लोसपामा ब्युँतिएजस्तो छ, अध्यक्ष मण्डलका कारण राजपा जसरी ठिकसँग चलेन, त्यस्तै हालत अहिले लोसपाको भएको छ ।’ एकल अध्यक्ष प्रणालीको पार्टीमा अध्यक्षलाई ठिक ढङ्गले काम गर्न दिनुपर्छ । तर लोसपामा त्यस्तो छैन । हरेक कुरामा शीर्ष नेताहरूबाट अवरोध भइरहेको ती नेताले दाबी गरे । उनले भने, ‘अध्यक्ष ठाकुरलाई काम गर्न दिएको भए अहिलेसम्म सबै भइसकेको हुन्थ्यो । तर अन्य शीर्ष नेताहरूको तर्फबाट डिस्टर्व भइरहेको छ ।’सभार जनकपुर दैनिक ।केन्द्रीय समितिमा आ–आफ्नो मान्छे पर्नुपर्ने गरी नाम ठाकुरलाई बुझाइएको छ । सबैलाई समेट्न कठिनाइ हुने भएकाले केन्द्रीय समितिलगायत अन्य विभाग र समितिहरू गठन नभएको सो पार्टीका एक नेताले बताए । उनका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको आफ्नै चाहना छ, शरतसिंह भण्डारी र अनिल झाको आआफ्नै स्वार्थ छ । जसका कारण पार्टी सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ । लोसपाका नेता महतोले केन्द्रीय समिति बनाउने बारेमा शीर्ष नेताहरूको बीचमा छलफल भइरहेको बताए । उनले भने, ‘पार्टी गठन भएदेखि चुनावै चुनाव भयो, केन्द्रीय समिति तथा अन्य भ्रातृ सङ्गठन विस्तार गर्ने त्यस्तो मौका नै भएन । अब बिस्तारै सबै समितिहरू बन्छन्’, उनले भने । उनले पनि केन्द्रीय समितिलगायत अन्य विभाग तथा भ्रातृ सङ्गठनहरू चाँडै विस्तार हुने बताए । उनले भने, ‘ शीर्ष नेताहरू केन्द्रीय समिति बनाउनका लागि आन्तरिक छलफलमा जुटेका छन्, निर्वाचनहरु सम्पन्न भएपछि केन्द्रीय कार्यसमिति विस्तार हुने र पार्टीले पूर्णता पाउने छ । यही महिनाभित्र केन्द्रीय समिति घोषणा हुन्छ ।’