स्पर्श खबर जितपुर बारा माघ १३ गते: सशस्त्र प्रहरीले सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रणका लागि ५ सयवटा बोर्डर आउट पोस्ट ‘बीओपी’ निर्माणको तयारी थालेको छ। हालसम्म सशस्त्रका २२८ वटा बीओपी छन्। सशस्त्र आईजीपी राजु अर्यालले सीमामा विभिन्न जघन्य तथा संगठित अपराध बढेको बताउँदै ५ सय बढी बीओपी तत्कालै आवश्यक्ता भएको बताए। बीओपी स्थापनाका लागि सशस्त्र प्रहरीसँग जनशक्तिको भने अभाव छ। भौतिक संरचना थप गर्नुपर्ने तथा डिजिटल बोर्डर कन्सेप्टलाई अगाडि बढाउन आधुनिक उपकरणको पनि आवश्यकता छ। २२औं सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा पनि आईजीपी अर्यालले सीमा नाकामा थप बीओपी आवश्यक भएको धारणा राखेका थिए। सशस्त्र प्रहरीको बीओपी स्थापना भएसँगै सीमाका बासिन्दाको जिउधनको सुरक्षाको लागि, अपराध नियन्त्रण गर्न बीओपीले निकै सघाएको बताएका थिए।
सशस्त्र प्रहरीकाका प्रवक्ता पुरुषोत्तम थापाका अनुसार सीमा नाकालाई हेर्न, सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रणका लागि तथा छिमकी देशको समकक्षीसँग समन्वय गर्न, सुरक्षा फोर्स बनेको हुन्छ। अहिले स्थापना भएका बीओपीमा खटाउन सशस्त्र प्रहरीसँग छुट्टै प्रहरी फोर्स छैन। गणकै दरबन्दीबाट परिपूर्ति भइरहेको छ। जसले गर्दा जनशक्ति अभाव छ। असहज भइरहेको छ। जिल्लामा बसेको गणले उक्त जिल्लाको सम्पूर्ण सिमानाका सुरक्षा गर्न सम्भव हुँदैन। थापा भन्छन्, ‘संसारभर सीमा सुरक्षाका लागि अर्धसैनिक बलकै प्रयोग हुने गरेको छ।’अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा बीओपीमा ३५ जनासम्म हुन्छन्। नेपालका बीओपीहरू प्रायः इन्सपेक्टरले नेतृत्व गर्छन्। २० देखि २५ जनाको टोलीले बीओपी सम्हालिरहेका छन्। आफ्नै संरचनासहितको एउटा नयाँ बीओपी स्थापना गर्न तराईका जिल्लामा ३ करोडदेखि दुर्गम र विकट स्थानमा साढे ३ करोडसम्मको लागत लाग्छ। रकम अभावकै कारण आवश्यक मात्रामा बीओपी निर्माण हुन नसकेको सशस्त्र प्रहरी बल बताउँछ। नेपालमा स्थापना भएका बीओपीहरूको प्रायः आफ्नै भवन छैन। बीओपी खडा गरेर बसिएन भने सीमा सुरक्षा गर्न नसकिने तर्क प्रवक्ता थापाको छ। ‘२४ सै घण्टा सीमा सुरक्षाका लागि तयार भएर बस्नुपर्ने हुन्छ। आपराधिक मानसिकता भएका व्यक्ति कतिबेला सीमा वारपार गर्छ भन्नै सकिन्न। सीमा भनेको दुई देशका बासिन्दाहरूको साझा थलो पनि हो। दुवै देशमा भइररहेका क्रियाकलापलाई सशस्त्र बीओपीले सुक्ष्म रूपमा निरीक्षण गरिरहेको हुन्छ,’उनी भन्छन्, ‘सीमा वारपारका गतिविधिमा निगरानी राखरिहेको हुन्छ। सीमामा सशस्त्र प्रहरीको उपस्थितिले अपराध कार्य र घटना कम हँुदै गएको र देशमा तुलनात्मक रूपमा शान्ति स्थापना भएको छ।’काकडभिट्टा बोर्डर होस् या सुस्ता वा दार्चुला नै किन नहोस् वा तराईका सीमा नाका हुन् बेलाबेलामा छिमेकी मुलुकसँग झडप भइरन्छ।
५ सय बीओपी पुर्याउँदै सशस्त्र

