स्पर्श खबर जितपुर बारा माघ १० गते:एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तेस्रो तथा अन्तिम म्याचमा भारतले पाहुना टोली न्यूजिल्याण्डलाई ३ सय ८५ रनको लक्ष्य दिएको छ। इन्दोरमा टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८५ रन बनायो।उसका लागि युवा ओपनर शुभमन गिल र कप्तान रोहित शर्माले शतकीय पारी खेले। गिलले ७८ बलमा १३ चौका र पाँच छक्काको मद्दतमा १ सय १२ रन जोडे। उनले ८५ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै १ सय १ रन बनाए। रोहितको अन्तर्राष्ट्रिय एकदिवसीय करियरको यो ३० औँ शतक हो। यससँगै रोहितले अन्तरोष्ट्रिय वानडे सर्वाधिक शतक प्रहार गर्ने मामलामा अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङको बराबरी गरेका छन्। पोन्टिङको नाममा पनि ३० वानडे शतक छन्।अन्तर्राष्ट्रिय वानडे क्रिकेटमा गिलको चौथो शतक हो। गिल र रोहितले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि २१२ रनको साझेदारी गरे। गिलले यस खेलमा केही नयाँ कीर्तिमान बनाएका छन्। गिलले ३ खेलको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजमा सर्वाधिक रन बनाउने खेलाडीको मामलामा पाकिस्तानका कप्तान बाबर आजमको बराबरी गरेका छन्। गिल र बाबरले तीन खेलको वानडे सिरिजमा समान सर्वाधिक ३ सय ६० रन बनाएका छन्।यसका साथै गिलले भारतीय पूर्वकप्तान विराट कोहलीको कीर्तिमान पनि तोडेका छन्। न्यूजिल्याण्डविरुद्ध तीन खेलको वानडे सिरिजमा भारतका लागि सर्वाधिक रन बनाउने ब्याटर बन्दै विराटको रेकर्ड भंग गरेका हुन्। आजको खेलमा ३६ रन बनाएँगै उनी न्यूजिल्याण्डविरुद्धको तीन खेलको वानडे सिरिजमा भारतका लागि सर्वाधिक रन बनाउने ब्याटर बने। यसअघि न्यूजिल्याण्डविरुद्धको ३ खेलको एकदिवसीय सिरिजमा विराटले सर्वाधिक २ सय ८३ रन बनाएका थिए।बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। न्यूजिल्याण्डका लागि ज्याकब डफी र ब्लेयर टिकनरले ३/३ तथा माइकल ब्रेसवेलले १ विकेट लिए। उसलाई २ विकेट रनआउटको रूपमा प्राप्त भयो। न्यूजिल्याण्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिज भारतले एक खेलअगावै जितिसकेको छ। यसअघि भएका दुई एकदिवसीय खेल भारतले जितेको थियो।
भारतले दियो न्यूजिल्याण्डलाई विशाल लक्ष्य, गिलले बनाए ठूलो कीर्तिमान

