स्पर्श खबर जितपुर बारा पुस २२ गते:
जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशको संसदीय दलका नेता चयन गर्न बिहीबार विधान बनाएका सांसदहरुले शुक्रबार नेताको चयन गर्ने भएका छन् । दलको नेता चयन गर्न गठित समितिका संयोजक रहेका राजनीतिक समितिका सदस्य लालकिशोर साहको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मतिबाट विधान पारित गरेको छ । संयोजक साहले जनाए अनुसार शुक्रबार विहान दलको नेता चयनका लागि सहमतिको प्रयास गरिनेछ । तर सहमति हुन नसके समितिले चुनावको कार्यक्रम सार्वजनिक गर्नेछ ।
मधेश प्रदेशमा जसपाकै मुख्यमन्त्री बन्ने निश्चित भएकाले दलको नेताका लागि तछाडमछाड भइरहेको छ । सभामुख रहिसकेका सरोज कुमार यादव, दलको उपनेता रहिसकेका रामअशिष यादव र मुख्यमन्त्री लालबाबु राउत दलको नेतामा दाबी गरिरहेका छन् । राउत पाँच वर्ष मुख्यमन्त्री रहँदा भ्रष्टाचार लगायतका अनेक विवादमा परेको आरोप विपक्षीहरुले लगाउने गरेका छन् । राउतको कार्यकाल असफल रहेको र मधेश प्रदेश सरकारको कारण स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनावमा पार्टीलाई क्षति पुगेको धारणा हालै सम्पन्न राजनीतिक समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले राखेका थिए । जसपामा १६ जना सभासद छन् । दलको नेताका लागि दाबेदारी गरेका तीनै जनाले आफ्नो पक्षमा बहुमत देखाउने कसरतमा लागेका छन् । सर्वसहमतिबाट नेता चयनको पक्षमा मुख्यमन्त्री राउत नरहे पनि सभामुख सरोज कुमार र उपनेता रहेका रामअशिष यादव सहमतिबाट नै हुनुपर्ने धारणा राखेका छन् । मुख्यमन्त्री राउतले नेकपा एमालेका सचिव समेत रहेका मधेश प्रदेशका इञ्चार्ज रघुवीर महासेठसित बुधबार राति लामो बैठक गरी सहयोगका लागि आग्रह गरेको स्रोतले जनाएका छन्।
नेता महासेठले चियाका लागि घरमा बोलाएकाले भेट्न गएको बताउँदै राउतले भने, जसपा संसदीय दलको नेताको विषयमा कुनै छलफल भएन् । तर दुबै जनाबीच लामो समय एक्लाएक्लै वार्ता भएको स्रोतले जनाए । दलको नेता छान्न जसपाका सभासदहरु प्रदेशको राजधानी जनकपुरधाममा जुटेका छन् । केही सभासदहरुलाई मुख्यमन्त्री राउतले रात्री भोज दिएको स्रोतले जनाए । चुनाव भए जित सुनिश्चित रहेको मुख्यमन्त्री निकट नेताहरुको दाबी छ । तर चुनाव हुने संभावना न्यून रहेको सभासदहरु बताउँछन् । राउत पनि सर्वसहमतिबाट नै दलको नेता चुनिएका थिए । त्यती बेला पनि नेताका लागि ४ जनाले दाबी गरेका थिए । संघीय गठबन्धनकै आधारमा जसपा, एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार जसपाले सरकारको नेतृत्व गर्ने पहिलो अवसर पाउने छ । संघीय सरकारमा जसपा हाल सहभागी भइसकेको छैन् । यद्यपि पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि पेश गरेका सांसदहरुको सूचीमा जसपाको पनि समर्थन छ । जसपाको तर्फबाट अध्यक्ष यादवले नै हस्ताक्षर गरेका छन् । केन्द्रमा पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची प्रतिनिधि सभाको राखिएकोछ । त्यस अगाबै जसपाका अध्यक्ष यादवले मधेश प्रदेश सरकारको नेतृत्वमा सुनिश्चितता चाहेका छन् । प्रदेश सरकारको नेतृत्व गर्ने अवसर जसपाले पाउने निश्चित रहेकाले नै दलको नेताको आकर्षण बढेको छ ।
नेताको दौडमा रहेका सांसद नेताहरुले बिहीबार राति सांसदहरुलाई प्रभावित गर्न अनेक गतिविधि गरेको बताइन्छ । तर बहुमत सांसदहरुले जसपा केन्द्रीय अध्यक्ष यादवको लाइन (संकेत) लाई कुरिरहेका छन् । अध्यक्ष यादवको लाइन पाउने सांसद नै दलको नेता चयन हुने पक्का छ । सांसद सञ्जय यादवले भने, नेताको चयन सांसदहरुले नै गर्ने भएकाले अध्यक्षको कुनै लाइन आउने छैन् । पुस महिनाको दोस्रो हप्तामा अध्यक्ष यादवले सांसदहरुलाई स्वतन्त्र रुपमा आफ् नो नेता चयन गर्न निर्देशन दिइसकेको उनले बताए । नेता चयनका लागि हुने सांसदहरुको बैठकमा अध्यक्ष यादवको उपस्थिति रहने छैन् । चुनाव हुने संभावना नरहेको यादवले दाबी गरे । मधेश प्रदेश संसदीय दलको नेताका लागि नेपाली कांग्रेसमा मात्र चुनाव भएको छ । जनमत पार्टीले महेश यादव र नेकपा एमालेले सरोज यादवलाई सर्वसम्मतबाट नै दलको नेता चयन गरेकोछ ।