स्पर्श खबर जितपुर बारा पुस १६ गते-पूर्वको चर्चित पर्यटकीय स्थल भेडेटारमा आइतबारदेखि जारी तीनदिने दसौं परिकार महोत्सवमा सांस्कृतिक झाँकीले आकर्षण बढाएको छ । मौलिक परिकारसहितका स्टल समावेश छन् । महोत्सव स्थलमा विभिन्न जिल्लासहित भारत, सिंगापुर, नेदरल्यान्ड्स र अमेरिकालगायतबाट पर्यटक सहभागी भएको आयोजकले जनाएको छ । होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा परिकार महोत्सव सुरु भएको हो । नृत्यमा सहभागी सिंगापुरकी चिङचिङ चोङले नेपाल सांस्कृतिक रूपमा धनी रहेको बताइन् ।महोत्सवमा स्थानीय खानाका परिकार, अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्री मुख्य आकर्षण रहेका छन् । आगन्तुकका लागि प्याराग्लाइडिङ, माउन्टेन बाइक र टुर प्याकेजको व्यवस्था गरिएको आयोजकले जनाएको छ । उसले ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखेको छ ।महोत्सवमा आउने पर्यटकलाई साँगुरीगढी गाउँपालिकाभित्र रहेको ऐतिहासिक स्थल साँगुरीगढी, पाथीभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झर्ना, शैलुङडाँडा, आत्मा बस्ने घर थुम्की, बौद्धविहार गुम्बा, ध्वजेडाँडा अजङ्गको वरको रूखलगायतका ठाउँमा घुमाइने जनाइएको छ । २०६८ देखि सुरु गरिएको महोत्सव कोभिडको समयमा दुई वर्ष स्थगित गरिएबाहेक नियमित रूपमा सञ्चालनमा आएको आयोजक समितिका संयोजक शान्ति मादेन श्रेष्ठले बताइन् ।