स्पर्श खबर जितपुर बारा मंसिर २९ गते-जिल्ला अनुगमन समिति बाराको टोलीले बुधवार निजगढ नगरपालिकाको बकैया र धन्सार खोलाको अनुगमन गरेको छ ।नगरपालिकाले चालू आर्थिक वर्षको लागि नदीजन्य पदार्थ उत्खनन, संकलन तथा निकासीको ठेक्का लगाउने तयारी गरिरहेको बेला जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साह, उपप्रमुख चण्डिका उप्रेती, डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत जवाहरप्रसाद कुर्मीसहितको टोलीले आइई प्रतिवेदनमा उल्लेख भएका बकैया र धन्सार खोलका विभिन्न प्लटहरुको स्थलगत अनुगमन गरेको हो ।अनुगमनमा निजगढ नगर प्रमुख सुरथ पुरी, प्रमुख प्रशासकीय अधिकृत सुमन धिताल र स्थानीय संचारकर्मी र सुरक्षाकर्मीहरुको पनि सहभागिता रहेको थियो ।अदालतको आदेशअनुसार नगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्रको क्षेत्रमा उत्खननको ठेक्का लगाउन सक्ने समन्वय समितिका प्रमुख साहले बताउनुभयो । उहाँले अदालतको निर्देशनलाई ख्याल गर्दै सरोकारवाल निकायसंगको छलफलको आधारमा ठेक्का प्रकृया अघि बढाइनुपर्ने पनि बताउनुभयो । उहाँले अहिले आफूहरु निजगढको नदीजन्य पदार्थ उत्खनन र संकलनको अध्ययन प्रकृयामा रहेको र आगामी दिनमा छलफल गरेर आवश्यक निर्णय लिइने पनि सुनाउनुभयो ।डिभिजन वन कार्यालय सिमराका सहायक वन अधिकृत कुर्मीले ठेक्का लगाउने बारेमा वन कार्यालय र निजगढ नगरपालिकाबीच कुनै असमझदारी नरहेको बताउनुभयो । उहाँले कानुनभित्र रहेर ठेक्का लगाइनुपर्ने बताउदै ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा संकलनको ठेक्का लगाउँदा वन तथा वातावरणीय पक्षको संरक्षणमा पनि ख्याल गर्नुपर्ने बताउनुभयो ।ढुङ्गा, गिटी र बालुवा उत्खन र निकासी रोक्न माग गर्दै परेको रिट अदालतले खारेज गरेपछि नगरपालिकाले ठेक्का लगाउने तयारी सुरु गरेको हो । उच्चअदालत जनकपुर, अस्थायी इजलास वीरगन्जलेसरोकारवालाहरुसंग समन्वय र सहमतिमा ठेक्का लगाउने आदेश दिएको र सोही अनुसार समितिले अनुगमन गर्न लागेको नगर प्रमुख पुरीले बताउनुभयो ।अदालतको निषेधाज्ञापछि नगरपालिकाले ४ महिनाअघि लगाउनुपर्ने नदीजन्य पदार्थ उत्खनन र संकलनको ठेक्का बन्दोबस्त गर्न सकेको थिएन । नगरपालिकाको प्रमुख आन्तरिक आयस्रोतको रुपमा रहेको बकैया र धन्सार खोलामा कार्यालयले अघिल्लो वर्ष १६ करोड र गत वर्ष १३ करोडमा नदीजन्य पदार्थको ठेक्का लगाएको थियो ।
जिल्ला अनुगमन समिति बाराको टोलीद्वारा निजगढको बकैया र धन्सार खोला अनुगमन

