स्पर्श खबर जितपुर बारा २३ गते-
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले २५ गतेबाट आन्दोलन थप सशक्त बनाउने भएको छ।
महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै आफूहरुको आग्रहलाई वेवास्ता गरे पहिलो चरणमा २५ गतेदेखि भाडावृद्धि फिर्ता गर्न मागसहितको कालो ब्यानर तथा कालो झण्डा प्रदर्शन गर्ने अध्यक्ष रामहिरा पाठकले बताएका छन्। साथै लिमिटेडलाई भाडा शुल्क आदि रकम भुक्तानी नगर्ने र महाप्रवन्धकको कार्यकक्ष तथा क्षेत्र व्यवस्थापकको कार्यकक्षमा सांकेतिक रुपमा एक दिन तालाबन्दी गर्ने कार्यक्रम रहेको उनले बताएका छन्।
पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले आफूहरुको मागलाई बेवस्ता गरेकै कारण उद्योग व्यवसाय बन्द गरेर सडकमा उत्रिनु परेको बताएका छन्।
२०६१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडावृद्धिको मापदण्ड बनाएर ५/५ बर्षमा भाडावृद्धि गर्नुपर्ने नियम विपरित २०७२/०७४ सालमा १५/१५ प्रतिशतका दरले भाडावृद्धि र २०७५ सालमा एकैपटक ७०० प्रतिशतसम्म वृद्धि गर्ने कार्य नियमविपरित रहेको उनले बताए।
भुकम्प, नाकावन्दी, तरलता अभाव, कोभिड र रुस युक्रेन द्वन्दका कारण उद्योगहरु धरायसी बनेको अवस्थामा सरकारले हाल आएर २०७५ सालदेखिको वृद्धि भएको सबै भाडा एकैपटक बुझाउन भनेपछि उद्योगहरु नै बन्द हुने अवस्थामा पुगेको उनी बताउछन्। सरकारको यो नियम विपरितको कार्य सच्याउन माग गर्दै उद्योगी व्यवसायीहरु हाल सडक आन्दोलनमा उत्रिएका छन्।