मनोज साह, बारा, पौष १६
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ रजघट्टामा अवस्थित जनता माध्यमिक विद्यालयले भोलि पौष १७ गतेका दिन विद्यालयको वार्षिक दिवस तथा अभिभावक दिवस मनाउन लागेको हो । विद्यालयको वार्षिक कार्यतालिका अनुसार विद्यालयको ३९ औं वार्षिक दिवस तथा ४० औं अभिभावक दिवस कार्यक्रम संयुक्त रुपमा मनाउन लागिएको शिक्षक वरुण गौतमले जानकारी दिनुभयो ।
जनता मा.वि. मा अध्यापनरत शिक्षक वरुण गौतमका अनुसार भोलि मनाउन लागिएको विद्यालयको वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस कार्यक्रममा प्रमुख अतिथिका रुपमा मधेस प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जैसवाल आउनुहुनेभएको छ ।
विद्यालयमा वर्षभरि भएका सम्पूर्ण कार्यक्रमहरूको झलक अभिभावक तथा सरोकारवालाहरूको उपस्थितिमा प्रस्तुत गर्ने एउटा सुनौलो अवसरको रुपमा विद्यालयको वार्षिक उत्सव कार्यक्रमलाई लिने गरिन्छ । विद्यालयको वार्षिकोत्सव कार्यक्रम तथा अभिभावक दिवसजस्ता कार्यक्रमहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न तथा अभिभावकलाई विद्यालयप्रति आकर्षित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।
जीतपुरसिमरा वडा नं.१४ रजघट्टामा अवस्थित जनता माध्यमिक विद्यालयले भोलि पौष १७ गतेका दिन मनाउन लागेको ३९ औं वार्षिक उत्सव कार्यक्रम तथा ४० औं अभिभावक दिवसको अवसरमा विविध साँस्कृतिक कार्यक्रम हुने तथा विद्यालयले समयसमयमा आयोजना गरेको विविध क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरणसमेत गरिने भएको छ । सोही अवसरमा विद्यालयका शिक्षक तथा अभिभावकलाई समेत सम्मान गरिने भएको विद्यालयले जनाएको छ ।